
९ पुस, २०७७ तिलोत्तमा। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतनिधि सभा विघटन गरेर देशलाई भड्खालोमा हालेको टिप्पणी गरेका छन् ।बिहीबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै नेता केसीले भने, ‘पार्टीभित्रको गुटको विवाद समाधान गर्न नसकेर संसद भंग गरी देशलाई भड्खालोमा हाल्ने काम संविधानमाथिको कू हो ।’उनले ओलीको असंवैधानिक कदमलाई सर्वाेच्च अदालतले सच्चाएर प्रतिनिधि सभा पुनर्स्थापित गरेर निकास दिनुपर्ने बताए ।
जनमतको अपमान गर्ने अधिकार ओलीलाई नभएको भन्दै उनले सर्वोच्च अदालतले संसद पुनर्स्थापित गर्ने विश्वास व्यक्त गरे ।कोरोना महामारीका कारण मुलुकको अर्थतन्त्र तहसनहस भएको बेला निर्वाचनमा अर्बाैं रकम खर्च गर्ने सामर्थ्य देशको नभएको केसीको तर्क छ । संसद विघटन गर्ने असंवैधानिक निर्णयले मुलुक र गणतन्त्रलाई धरापमा पारेको बताउँदै उनले संसद पुनःस्थापनाको माग गरे । संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा गएपछि सबैको आँखा त्यतातर्फ गएको बताउँदै पक्षमा फैसला हुनु पर्नेमा जोड दिए ।
रिपोटर्स क्लब लुम्बिनीलले विहिबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै केसीलले आफ्नो पार्टीको गुटगत स्वार्थ, व्यक्तिगत महत्वकांक्षा र सत्ता लिप्साका कारण दलहरुले यसरीनै पटक पटक जनतालाई विश्वासघात गर्ने गरेको आरोप लगाए । अहिले देशको स्वाधिनता रक्षाका लागि प्रजातन्त्रवादी शक्तिहरू र गणतन्त्रवादी शक्तिहरु एक हुनु पर्ने बेला भएको बताउँदै उनले देशलाई नै संकटमा पार्ने गरी प्रधानमन्त्री ओलीले गरेको निर्णय गतल भएको उल्लेख गरे ।
‘कम्युनिष्ट आन्दोलनका नाममा बदनाम मात्रै भएको छ । कानूनी व्यवस्था र सिद्धान्तको सँस्कृति हराएको छ ।’–केसीले भने, ‘विदेशी शक्ति राष्ट्रहरुले नेपालमा चलखेल गर्नु र गर्न खोज्नु स्वाभाविक हो । नेपालका दलहरु नै सजग हुन जरुरी छ ।’
कमेन्ट गर्नुहोस्