लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अर्थमन्त्री पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोषका पदाधिकारी बीच छलफल

IMG

मङ्सिर २८,२०७७ तिलोत्तमा। नेपाल सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोषका पदाधिकारी बीच एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि (ECF)कार्यक्रमको तयारी लगायत अर्थतन्त्रका अन्य विविध विषयमा आज भिडियो कन्फ्रेन्स मार्फत छलफल सम्पन्न भएको छ।उक्त छलफलमा अर्थमन्त्री पौडेलले प्रस्तावित एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि (ECF) कार्यक्रमको तयारीका लागि नेपाल र कोषका पदाधिकारीहरुबाट संयुक्त रुपमा भैरहेको हालसम्मको कामप्रति खुशी व्यक्त गर्नुभयो। उहांले कोभिड-१९ महामारीको कठिन परिस्थितिमा श्रोत व्यवस्थापनमा चाप परेको अवस्थामा गत मार्च महिनामा कोषले र्‍यापिड क्रेडिट फ्यासिलिटि (RCF) मार्फत नेपाललाई गरेको सहयोग तथा सि.सि.आर.टि.(Catastrophe Containment and Relief Trust) अन्तर्गत ऋणको सावा तथा ब्याज सहुलियत प्रदान गरेकोमा हार्दिक आभार प्रकट गर्नुभयो।


अर्थमन्त्री पौडेल र कोषका पदाधिकारीबीच कोभिड-१९ ले बढी प्रभाव पारेको क्षेत्रहरु र सो लगायत समग्र आर्थिक पुनरुत्थानको गति थप तिव्र बनाउने लगायतका विषयमा गहन छलफल भयो। सो क्रममा यस आर्थिक वर्षको बजेटले मुख्य रुपमा राहत र आर्थिक पुनरुत्थानलाई प्राथमिकता दिएको र कोभिडको रोकथाम, नियन्त्रण तथा उपचार लगायत आर्थिक पुनरुत्थानका लागि बढ्दो सार्वजनिक खर्च व्यवस्थापन गर्न प्रस्तावित कार्यक्रमले सघाउ पुर्‍याउने धारणा ब्यक्त गर्नुभयो। अन्तर्राष्ट्रिय मुद्रा कोष समेतको सक्रियता तथा नेतृत्वमा G20 का सदस्य मुलुकहरुबाट प्राप्त भएको ऋणको सावाँ तथा ब्याज स्थगन सम्बन्धी सुविधाका लागि अर्थमन्त्रीले धन्यवाद दिनुहुँदै न्यून आय भएका मुलुकहरुलाई थप कुनै अतिरिक्त भार वेगर सापेक्षिक रुपमा लामो समयका लागि यस्तो सुविधा उपलब्ध गराउनु पर्ने बताउनुभयो।


उक्त छलफलमा कोषका पदाधिकारीहरुले एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि कार्यक्रमको तयारीको पछिल्लो प्रगतिको बारेमा जानकारी गराउँदै नेपालको आर्थिक तथा सामाजिक विकासमा अन्तर्राष्ट्रिय मुद्रा कोषको निरन्तर सहयोग हुने विश्वास दिलाउनु भयो। साथै, आर्थिक पुनरुत्थानको लागि कोषले नेपालसंग थप सहकार्य गर्दै जाने समेत बताउनुभयो।

कमेन्ट गर्नुहोस्