
मङ्सिर २७,२०७७ तिलोत्तमा। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब कानेखुसी गरेर पार्टी नचल्ने बताएका छन् ।बागमती प्रदेशका प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट जिल्ला इञ्चार्ज, अध्यक्ष र सचिवहरुको भर्चुअल भेला भएको थियो । बिहीबार भएको गरिएको भर्चुअल भेलालाई सम्बोधन गर्दै प्रचण्डले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमा कानेखुसी गर्न रुचाउने प्रवृत्ति देखिएको बताएका थिए ।भेलामा सहभागी एक नेताका अनुसार प्रचण्डले अब ओलीसँग एक्लाएक्लै बस्ने र कानेखुसी गरेर अगाडि नबढ्ने बताएका छन् । ‘पार्टी कमिटीको बैठक राखेर निर्णय लिनेभन्दा पनि कानेखुसी गरेर अगाडि जाऔं भन्नेमा केपी ओली कमरेडको धेरै जोड देखिन्छ । तर त्यसरी नहुने रहेछ’, प्रचण्डले भनेका छन् ।सचिवालयकै नेताहरु कानेखुसीको नीति अवलम्बन गर्ने र धोका दिने प्रवृत्ति ओलीमा रहेको उनले बताए ।‘अब कानेखुसी गरेर होइन, पार्टीका नेताहरुसँग छलफल गरेर सहमति निकालेर अगाडि बढ्नुपर्छ । बैठकले निर्णय गर्ने र नेतृत्वले कार्यान्वयन गर्नेतिर जानुपर्छ’, प्रचण्डले बताए ।
ओलीको व्यवहारले आफू दिक्क भइसकेको उनले बताए ।प्रचण्डसँगै नेता नेपालले पनि सम्बोधन गरेका थिए । पहिले दुई अध्यक्ष मिलेर आफूलाई अल्पमतमा पारेको सम्झदै नेता नेपालले ‘दुई अध्यक्षको चोचोमोचो’ले संकट आएको बताए । ‘पहिले पनि भनेको थिए । दुई अध्यक्षले गरेपछि भइहाल्यो भनेर हुन्न । पार्टी कमिटीले पार्टी चलाउने हो’, नेपालको भनाइ थियो ।नेता नेपालले प्रचण्डलाई पहिले पनि ओलीबाट धोका पाउनु हुन्छ भनेर जानकारी दिएको बताए ।मंसिर २१ मा सुरु भएको स्थायी कमिटी बैठक आइतबारसम्म स्थगित भएको छ । त्यो बीचमा आन्तरिक कलह सुल्झाउन अनौपचारिक पहल गर्ने भनिएपनि ओली र प्रचण्डबीच एक पटकमात्रै भेटवार्ता भएको छ ।ओली र नेपालबीच भने सम्वाद नै हुन सकेको छैन । बरु ओली र नेपाल पक्षका विद्यार्थीहरुले देशभर भेला गरिरहेका छन् भने पार्टी नेताहरुको पनि गुटगत छलफल चलिरहेको छ ।
कमेन्ट गर्नुहोस्