
काठमाडौं । विभिन्न २२ राजनीतिक दलले आगामी मंसिर ७ गते माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन गर्ने भएका छन् ।२१ दलको बैठकले वामपन्थी संगठन– समाजवादी राष्ट्रिय मञ्चलाई पनि कार्यगत एकतामा सामेल गर्दै सरकारका गलत काम कारवाहीका विरोधमा अब २२ दलबीच कार्यगत एकता हुने जनाएको हो ।उनीहरुले सरकारका ‘राष्ट्रघाती’ र ‘जनघाती’ कदमको सामुहिक रुपमा विरोध गर्ने जनाएका छन् ।अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)सँग नेपालका विभिन्न सरकारद्वारा विभिन्न समयमा गरिएका राष्ट्रघाती सम्झौताको खारेजी, भारतले अतिक्रमण र कब्जा गर्दै आएको भू–भागमाथि नेपालको स्वामित्व कायम गर्नेलगायतका माग राख्दै ती दलले प्रदर्शन गर्न लागेका हुन् ।
साथै, कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा निःशुल्क उपचार, बेरोजगार र विपन्न वर्गलाई खानालगायत न्यूनतम सुविधा, रोजगारीको व्यवस्थालगायतका माग गर्दै ती दलले प्रर्दशन गर्न लागेको बताइएको छ ।कार्यगत एकतामा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी छन् ।त्यस्तै, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद्, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्शेविक), राष्ट्रवादी केन्द्र नेपाल, एमसिसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान, नेकपा (मार्क्सवादी), नेकपा मार्क्सवादी (पुष्पलाल) र नेकपा (माओवादी) पनि कार्यगत एकतामा सामेल छन् ।
कमेन्ट गर्नुहोस्