
बुटवल । घमासान लडाई चलिरहेका बेला बिदामा बस्ने सैनिक र श्रीमान बिरामी परेका बेला माईत हिँड्ने श्रीमतीको कुनै उपादेयीता हुँदैन भने झैं कोरोना माहामारीले बिकराल रुप लिईरहेका बेला बुटवलस्थित कोरोना विशेष अस्पतालका केहि चिकित्सक र स्वास्थ्यकर्मीहरुले अस्पताल आउन छाडेर आफुहरुले आफ्नो अवसरवादी चरित्र देखाएका छन् ।कोरोना जोखिम भत्ता नपाएको भन्दै गत मंगलबार ज्ञापनपत्र दिएका अस्पतालको करार सेवामा कार्यरत चिकित्सकहरु अचानक बुधबारबाट अस्पताल नआएपछि कोरोनाका बिरामीहरुको उपचार झण्डै ३६ घण्टा प्रभावित बनेको थियो ।
बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा साउन महिनादेखि कारर सेवामा कार्यरत ७ चिकित्सक अस्पताल आउन छाडेपछि अस्पतालको सेवा भण्डै ३६ घण्टा प्रभावित समेत बन्यो ।कोभिड अस्पताललाई नै लक्षित गरेर करारमा नियुक्त सातैजना चिकित्सक कोरोना जोखिम भत्ता नपाएको भन्दै बुधवारदेखि ड्युटीमा नआएको अस्पतालले जनाएको छ । यद्यपी उनीहरुले गैरजिम्मेवार काम गरेको भन्दै कारवाही र मेडिकल काउन्सिलमा समेत रिपोर्ट गर्ने चेतावनी अस्पतालले दिएपछि शुक्रबारबाट उनीहरु ड्युटीमा आएका छन् ।
मेडिकल अफिसरहरु विशाल झा, कल्याण रेग्मी, प्रतिमा भण्डारी, पूजन ज्ञवाली, राजेश लिम्बु, सविता अर्याल र एलिसा सिंह अस्पतालको सेवामा नै प्रभाव पार्ने उद्देश्यका साथ अनुपस्थित भएको अस्पतालको आरोप छ ।लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले अचानक काममा नआएपछि अस्पतालमा कार्यरत कन्सल्टेन्ट र नर्सिङ स्टाफहरुबाट सेवा प्रदान गरिएको बताए ।
सातैजना चिकित्सकले कोरोना जोखिमभत्ता नपाए सेवामा नआउने भन्दै मंगलबार मात्रै अल्टिमेटम दिएका थिए । ‘छलफलमा समेत नबसी उनीहरु काममा आएनन्, यस्तो क्रियाकलापलाई गम्भिर अपराधको रुपमा लिनुपर्दछ’, डा। खनालले भने ।चिकित्सकको मागलाई तुरुन्त मन्त्रालयमा पठाईएको र मन्त्रालयले समेत तिहार लगत्तै जोखिम भत्ता उपलब्ध गराउने बताईरहँदा पनि सम्बाद र वार्ता समेत नगरी ती चिकित्सकहरु अनुपस्थित भएको डा. खनालले बताए ।चिकित्सकहरु ड्युटीमा फर्केपनि उनीहरुले आत्मालोचना गर्नुपर्ने डा. खनालको भनाई छ ।
कमेन्ट गर्नुहोस्