लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सचिवालय बैठक बोलाउन विष्णुप्रसाद पौडेललाई जिम्मा

tillotmacitynews - 2020 Nov 10 08:06 PM
IMG

२५ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक बोलाउन तयार भएका छन् । नेकपाको सचिवालय बैठक असोज १९ गतेदेखि बस्न सकेको छैन ।पार्टीभित्र विवाद बढ्दै गएपछि सचिवालय बैठक रोकिएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सचिवालय सदस्य (प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ) ले बैठक बोलाउन आग्रहसहित लिखित पत्र नै ओलीलाई बुझाएका छन् । कात्तिक २३ मा बालुवाटार पुगेर बैठक बोलाउन माग गर्दै पत्र बुझाएका थिए ।उच्च स्रोतका अनुसार, आफू निकट नेताहरुको समेत दबाव आएपछि ओली पनि बैठक बोलाउन तयार भएका छन् । ओलीले महासचिव विष्णुप्रसाद पौडेललाई बैठक बोलाउने जिम्मा दिएका छन् ।ओली निकट नेता सुवास नेम्वाङले पनि बैठक बोलाउने तयारी भएको बताए । ‘बैठक बोलाउने नै हो, त्यसको तयारी भइरहेको छ,’ नेम्वाङले भने,  ‘महासचिव पौडेललाई बैठकको मिति तय गर्ने जिम्मा दिइएको छ ।’


बैठक बोलाउने जिम्मा पाए लगत्तै महासचिव पौडेल सोमबार खुमलटार पुगेका थिए । तर, प्रचण्ड र पौडेलबीच भएको सम्वाद खुलाइएको छैन । महासचिव पौडेलले पनि बैठक बोलाउने तयारी भइरहेको संकेत दिए । उनले भने, ‘थाहा पाइहाल्नु हुन्छ नि, बैठकको मितिबारे पनि चाँडै भनौला ।’यता, प्रचण्डसहितका पाँच नेता भने सचिवालय बैठक नबोलाइएको भन्दै मंगलबार दिउँसो चार बजे धुम्बाराहीमा बैठक बस्ने तयारी गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्