
८ असोज, काठमाडौं । सार्वजनिक लेखा समितिले वाइडबडी जहाज र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको छानबिनबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग विवरण माग गरेको छ ।वाइडबडी विमान खरिद प्रकरणमा तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्रीहरु जीवनबहादुर शाही र जीतेन्द्र देव, सचिवहरु, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारमाथि समेत अनियमितताको आरोप लागेको छ ।
वाइडबडी विमान खरिदमा लेखा समितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै आवश्यक अनुसन्धान गरी कारबाही गर्न करिब दुई वर्ष अगाडि अख्तियारलाई पत्राचार गरेको थियो ।तर, हालसम्म त्यसको अनुसन्धानका विषयमा भएको प्रगतिबारे जानकारी नभएको भन्दै लेखाले विवरण माग गरेको हो ।
बिहीबार अख्तियारलाई पत्र लेखी वाइडबडी र सेक्युरिटी प्रिन्टिङ प्रेसको छानबिनबारे विवरण माग गरेको लेखा समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।करिब ६ महिनाअघि अनुसन्धान कहाँ पुग्यो ? भनेर पत्र लेख्दा अनुसन्धान हुँदै गरेको भन्ने जवाफ आएको उल्लेख गर्दै सचिव पाण्डेले पुनः पत्र लेखिएको जानकारी दिए ।महालेखा परीक्षकको कार्यालयले ५५ औं वार्षिक प्रतिवेदनले पनि वाइडबडी खरिद प्रक्रियामा प्रश्न उठाएको थियो । महालेखाको प्रतिवेदनलाई नै आधार बनाएर लेखा समितिले छानविन गरेको थियो ।वायु सेवा निगमले वाइड बडी विमान खरिद गर्न १ मार्च २०१७ मा १० लाख र १९ जून २०१७ मा ७ करोड ९० लाख गरी ८ करोड अमेरिकी डलर पेस्की दिएको भन्दै महालेखाले अनियमितता भएको दाबी गरेको थियो ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको छानबिन पनि अख्तियारले तामेलीमा राख्न खोजेको चर्चा छ । लेखा समितिले पनि यसबारे आशंका गर्दै अख्तियारलाई पत्र पठाएको छ ।‘साँच्चै तामेलीमा राखिसकेको हो कि अनुसन्धान भइरहेको हो ? अनुसन्धान भइरहेको भए प्रगति विवरण के छ ?’ लेखाले सोधेको छ ।सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा ७० करोड कमिसनको मोलमोलाइ भएको अडियो टेप सार्वजनिक भएपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका थिए ।स्वीट्जरल्याण्डको केबीए–नोटासिस एसए कम्पनीको नेपाल प्रतिनिधि दाबी गर्ने विजयप्रकाश मिश्रले बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा करिब ७० करोड कमिसन मागेको आरोप लगाउँदै त्यससम्बन्धी अडियो टेप सार्वजनिक गराएका थिए ।
कमेन्ट गर्नुहोस्