लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनकपुर–जयनगर चल्ने रेल शुक्रबार मध्याह्न १२ बजेभित्र आइपुग्‍ने

tillotmacitynews - 2020 Sep 17 07:59 PM
IMG

चंचल झा असोज १, २०७७ सिरहा   :  जनकपुर–जयनगर रुटमा चलाउनका लागि भारतबाट भोलि (शुक्रबार) दुई वटा रेल जनकपुरधाम आइपुग्ने भएको छ।  रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर–जयनगर चल्ने रेल भोलि मध्याह्न १२ बजेसम्ममा जनकपुरधाम स्टेसनमा आइपुग्ने जानकारी दिए। उनका अनुसार रेललाई स्वागत गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली र रेल विभागको टोली जनकपुरधाम आउन लागेका छन्। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सीमा नाका सिल गरिएका कारण तयार भइसकेको रेल भारतको पटनास्थित हाजीपुर स्टेसनमा ल्याएर राखिएको थियो। तर रेल्वे विभागले केही दिन अगाडि भारतीय कम्पनीलाई रेल पठाउन पत्राचार गरेपछि भोलि आइपुग्ने बताइएको छ।



रेलको परीक्षणपश्चात मात्र औपचारिक रुपमा रेल्वे विभागले बुझ्नेछ। रेल भोलि आइपुग्ने पक्का भए पनि संचालन कहिलेदेखि हुने निश्चित समय तोकिएको छैन। रेल आएपछि छिट्टै संचालन गर्ने तयारी भने भइरहेको छ। रेल्वे विभागले तीन दिनअघि मात्र १ सय २९ कर्मचारीको नियुक्तिका लागि आवेदन खुला गरिएको छ। कर्मचारीका लागि फारम भर्ने अन्तिम मिति असोज १२ सम्म तोकिएको छ। कर्मचारी भर्नालगत्तै असोजभित्रै रेल्वे संचालन गरिने बताइएको छ।  रेल सञ्चालनका लागि केही प्राविधिक टोली भने भारतबाटै ल्याइनेछ।  


कमेन्ट गर्नुहोस्