लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अक्षराका विद्यार्थीलाई वैशाख ८ बाट अनलाइन कक्षा सुरु

tillotmacitynews - 2020 Apr 24 03:09 AM
IMG

काठमाडौं । अक्षरा स्कुल, काँडाघारीले विद्यार्थीलाई घर घरबाटै अनलाइन कक्षाको व्यवस्था गरेको छ ।


कोभिड–१९ संक्रमणको कारण सरकारले घोषणा गरेको लकडाउनले स्कुलहरु बन्द भएपछि यही वैशाख ८ गतेबाट अक्षराले अनलाईन कक्षा सुरु गरेको हो । त्यसका लागि शिक्षक, कर्मचारीलाई आवश्यक तालिम सम्पन्न भइसकेको जानकारी स्कुलले दिएको छ ।


अक्षरामा कक्षा नर्सरी देखि १० सम्मका विद्यार्थीलाई सूचना प्रविधिमार्फत कक्षा र शैक्षिक गतिविधि अघि बढाउन लागेको हो ।


लकडाउनका कारण आगामी शैक्षिक सत्र ०७७ मा विद्यालय खुल्ने दिन अझै अनिश्चित छ ।


केही बर्ष अगाडिदेखि नै विद्यालयले प्रयोगमा ल्याएका मेसेन्जर, भाइवर, गुगल क्लास रुम, स्कुल एप’ लाई निरन्तरता दिँदै अनलाइन कक्षा सुरु भएको हो ।

अनलाइन कक्षासँगै ०७६ सालको वार्षिक परीक्षाको ग्रेड शीट अक्षरा मोबाइल एपबाटै हेर्ने व्यवस्था मिलाएको छ । लकडाउन अवधिभर विद्यार्थीहरुले मोवाइल एपबाट व्यवहारिक र सृजनशील कार्य गरी समयको सही सदुपयोग गर्ने अवसर प्रदान गरिएको छ ।


विद्यालयकी निर्देशक प्रिन्सिपल अन्जु भट्टराईका अनुसार विद्यालयद्वारा गुगल क्लासरुम र गुगल मिटको माध्यमबाट विद्यार्थीहरुलाई शिक्षण सिकाइ गराइने छ ।


अनलाइन कक्षामा विद्यार्थीहरुका लागि शिक्षकहरुले राखेका विषयगत पाठ्यसामग्री पढेर र श्रव्य–दृष्य हेरेर गृहकार्य गर्ने, आफूले गरेका काम अपलोड गर्ने, आफ्ना समस्याहरु राख्ने, गुगल मिटमा शिक्षकहरुले सञ्चालन गर्ने प्रत्यक्ष भिडियो कक्षामा सहभागी हुने सुविधा पाउनेछन् । विद्यालयले समयमै अक्षरा मोवाइल एप र जी सुट प्रयोगमा ल्याएकोले यो विषम परिस्थितिमा शिक्षण सिकाइ कार्य गर्न केही सहज हुने आशा गरिएको छ ।


बालबालिकाले अब घरघरबाटै आफ्नो सिकाइलाई अगाडी बढाउन सक्नेछन् । यसका लागि विद्यार्थीलाई आवश्यक पाठ्य सामग्री  तयार पारिएको र अभिभावकलाई समेत आवश्यक जानकारीसहितको तयारी गराइएको स्कुलले जनाएको छ ।


भट्टराईले प्रविधि मैत्री विद्यालय बनाउन शिक्षकको क्षमता वृद्घि, तालिम तथा अभिमुखीकरण कार्यक्रमलाई विशेष ध्यान दिएको बताउनुभयो ।


अन्त्यमा, लकडाउनको यो अवधिमा प्रविधीमैत्री बन्न र सक्रिय बनेर सिर्जनात्मक कार्य गर्दै सदुपयोग गर्न स्कुलले सबैलाई आग्रह पनि गरेको छ ।

कमेन्ट गर्नुहोस्