
बुटवल । बुटवल रारा मसला उद्योग बन्द गराउने निर्णय लागु नगर्न उच्च अदालतले आदेश दिएको छ । घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको बुटवल रारा मसला उद्योग बन्द गराउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत तुलसीपुर, बुटवल इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
न्यायाधीशद्वय मिलनकुमार राई र सानुमैया डंगोलको संयुक्त इजलासले असोज ८ गते जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै निवेदनको अन्तिम टुंगो नलागेसम्म उद्योग बन्द नगर्न आदेश दिएको हो ।बुटवल रारा मसला उद्योगका सञ्चालक दीपक भुसालले घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीसहितलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषण/परमादेशसम्बन्धी रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो ।अदालतले उद्योगबाट वातावरणीय प्रदूषण भए–नभएको विषयमा अन्तिम विवेचना हुन बाँकी रहेको उल्लेख गरेको छ ।
घरेलु तथा साना उद्योग कार्यालयले असोज ५ गते उद्योग तत्काल बन्द गर्न दिएको पत्र कार्यान्वयन गर्दा कच्चा पदार्थ तथा उत्पादित वस्तुको व्यवस्थापनमा समस्या उत्पन्न हुने र एक्कासी उद्योग बन्द हुँदा कार्यरत कर्मचारी तथा उद्योग सञ्चालकको पेसा–व्यवसाय गर्न पाउने मौलिक हकमा समेत प्रत्यक्ष असर पुग्ने देखिएको अदालतको आदेशमा उल्लेख छ ।यही आधारमा ‘सुविधा र सन्तुलन’लाई मध्यनजर गर्दै यसअघि जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइएको अदालतले जनाएको छ ।
स्थानीय हरि शर्मा कार्कीलगायतले उद्योगबाट धुलो प्रदूषण तथा कम्पन भएको भन्दै बुटवल उपमहानगरपालिकाको न्यायिक समितिमा उजुरी दिएका थिए ।त्यसपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा समेत उजुरी परेपछि घरेलु तथा साना उद्योग कार्यालयले असोज ५ गते उद्योग बन्द गर्न निर्देशन दिएको थियो ।तर, उद्योग बन्द गर्नुअघि कुन कानुनी आधारमा, कुन मापदण्ड उल्लंघन भएको र त्यसबाट के–कस्तो वातावरणीय असर परेको हो भन्ने विषय स्पष्ट नगरी बन्दको निर्देशन दिइएको भन्दै उद्योग सञ्चालक अदालत पुगेका थिए ।
अदालतको आदेशसँगै अब उद्योग तत्काल बन्द हुने अवस्था टरेको छ ।उद्योगबाट वातावरणीय प्रदूषण भए–नभएको र सम्बन्धित निकायले गरेको निर्णय कानुनी तथा तथ्यगत रूपमा उचित थियो वा थिएन भन्ने विषय भने रिट निवेदनको अन्तिम सुनुवाइपछि टुंगो लाग्नेछ ।
कमेन्ट गर्नुहोस्