
काठमाडौँ। भोटेकोशी बाढीका कारण नेपालको विद्युत् उत्पादन घटे पनि निर्यात भने नियमित भइरहेको छ । बाढीका कारण सञ्चालनमा रहेका सात वटा जलविद्युत् तथा सौर्य आयोजना क्षतिग्रस्त हुँदा २५० मेगावाट विद्युत् उत्पादन अवरुद्ध भए पनि भारततर्फको निर्यात भने नियमित भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार भदौ १० को बाढीले विद्युत् आयोजना तथा प्रसारण लाइनमा क्षति भए पनि पछिल्लो समय दैनिक करिब नौ सय मेगावाटसम्म विद्युत् निर्यात भइरहेको छ । “बर्खायाम भएको र भारत निर्यातका लागि सूचीकृत जलविद्युत् आयोजनामा धेरै क्षति नभएकाले दैनिक एक हजार मेगावाटसम्म निर्यात गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “भारत निर्यातका लागि सूचीकृत ५४ मेगावाटका आयोजना मात्र क्षति भएको हो । अन्यको नियमित छ । बङ्गलादेशमा भने निर्यात गर्न सकिएको छैन ।”
ढकालका अनुसार भारततर्फ सामान्य अवस्थामा नौ सय मेगावाट र पिक समयमा सात सय मेगावाटको हाराराहीमा विद्युत् निर्यात भइरहेको छ । सोमबार मात्रै पिक समयमा ७८६ मेगावाट निर्यात भएको थियो भने अफ पिकमा एक हजार १५ मेगावाट निर्यात भएको थियो ।विद्युत् प्रसारण सञ्जालमा पछिल्लो समय स्थापित भएको अन्तरआबद्धता तथा ऊर्जा सुरक्षाका लागि विगतमा अपनाइएका रणनीतिका कारण अहिलेको कठिन समयमा पनि देशभित्र पर्याप्त विद्युत् आपूर्ति गरी बाँकी भएको विद्युत् निर्यात गर्न प्राधिकरण सक्षम भएको ढकालले बताउनुभयो ।
बाढीका कारण भारतमा निर्यातका लागि सूचीकृत देवीघाट र चिलिमे जलविद्युत् आयोजना क्षतिग्रस्त भएकाले ५५ मेगावाट भने घटेको छ । त्यस्तै बङ्गलादेश निर्यातका लागि सूचीकृत आयोजना पनि बाढीले बगाएका कारण निर्यात हुन नसकेको हो तर प्राधिकरणले बङ्गलादेश निर्यात सुचारु गर्न २४ मेगावाट क्षमताको काबेली बी १ र १६ मेगावाटको सोलुखोला जलविद्युत् आयोजनालाई स्वीकृति दिन पत्राचार गरिसकेको छ । स्वीकृति प्राप्त भएमा बङ्गलादेश पनि विद्युत् निर्यात गर्ने प्राधिकरणको योजना छ । नेपालले प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता छ ।
आयातका लागि अनुमति
यसैबिच भारतले नेपाललाई दैनिक ६५४ मेगावाटसम्म विद्युत् उपलब्ध गराउने गरी भारतको ऊर्जा मन्त्रालयले स्वीकृति दिएको छ । भारतको ऊर्जा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार यही सेप्टेम्बर १३ देखि डिसेम्बर ३१ सम्मका लागि राति १२ बजेदेखि साँझ ६ बजेसम्म यो परिमाणको विद्युत् नेपाललाई दिन सक्ने छ ।विज्ञप्ति अनुसार नेपालले ढल्केबर–मुजफ्फरपुर चार सय केभी प्रसारण लाइनबाट छ सय मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनबाट ५४ मेगावाटसम्म आयात गर्न सक्ने छ तर अहिले नेपालकै आन्तरिक विद्युत् पर्याप्त भएकाले नेपालले बिजुली आयात गर्नु परेको छैन ।
“हामीलाई अहिले आयात गर्नुपर्ने अवस्था छैन । आवश्यक परिहाले विद्युत् आयात गर्न यसले भविष्यका लागि सहजता दिने छ,” ढकालले भन्नुभयो । प्राधिकरणले यस्तो अनुमति दिन नियमित प्रक्रिया अनुसार नै बाढी आउनुपहिले नै भारत सरकारसमक्ष अनुरोध गरेको थियो । भारतले सन् २०२७ का लागि भने डिसेम्बरमा समीक्षा गर्ने विज्ञप्तिमा उल्लेख छ ।नेपालले भारत र बङ्गलादेशमा गत आर्थिक वर्ष २०८२/८३ मा कुल २९ अर्ब ३२ करोड ४७ लाख रुपियाँको विद्युत् निर्यात गरेको थियो । प्राधिकरणले आन्तरिक खपतपछि बाँकी विद्युत् गत आवका १२ महिना नै निर्यात र आयात पनि उल्लेख्य घटाउन सम्भव हुँदा खुद विद्युत् व्यापार बचतमा राम्रो प्रगति देखिएको हो । बाढीका कारण आयोजना क्षतिग्रस्त भएकाले आगामी सुक्खायाममा निर्यात घट्ने तथा आयात केही बढी गर्नुपर्ने हुन सक्छ । यद्यपि धेरै ठुलो असर भने नपर्ने प्रवक्ता ढकालले बताउनुभयो ।
गत आवमा २०८२/८३ मा निर्यात परिमाण ६२.८९ प्रतिशतले बढेर तीन अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट पुगेको थियो । विद्युत्को भारतीय खुला बजार इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा विद्युत् निर्यात हुने गरेको छ । त्यस्तै मध्यकालीन सम्झौता अनुसार भारतकै एनटिपिसी विद्युत् व्यापार निगमसँग विद्युत् व्यापार हुने गरेको छ ।
कमेन्ट गर्नुहोस्