
तिलोत्तमा । तिलोत्तमा नगरपालिकाको भवन तथा बस्ती विकास शाखाबाट प्रदान हुँदै आएका घर नक्सासम्बन्धी सेवाहरू अब पूर्ण रूपमा डिजिटल प्रक्रियामार्फत सञ्चालन हुने भएका छन्। नक्सा दर्ता, घर नक्सापास, निर्माण सम्पन्न प्रमाणपत्रलगायतका सेवा डिजिटल हस्ताक्षरमार्फत अनलाइन प्रणालीबाटै उपलब्ध हुने नगरपालिकाले जनाएको छ।असोज १ गतेदेखि शुरु हुने गरि सो सेवा सुचारु गर्न लागिएको हो।
नगरपालिकाको भवन तथा बस्ती विकास शाखाका प्रमुख इन्जिनियर मनिष खनालका अनुसार शाखाबाट प्रवाह हुने सेवाहरूलाई थप प्रविधिमैत्री, सहज र सेवाग्राहीमैत्री बनाउन डिजिटल हस्ताक्षर प्रणाली कार्यान्वयनमा ल्याइएको हो।यसअघि घर नक्सासम्बन्धी अधिकांश प्रक्रिया अनलाइन प्रणालीमा भए पनि आवश्यक हस्ताक्षर तथा प्रमाणपत्र लिन सेवाग्राही नगरपालिका कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यता थियो। अब भने डिजिटल हस्ताक्षर र त्यसको प्रमाणीकरण गरी आवश्यक प्रमाणपत्र प्रणालीबाटै सिर्जना गरिने शाखाले जनाएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले भवन तथा बस्ती विकास शाखाबाट हुने नक्सा दर्ता, नक्सापास, निर्माण सम्पन्नलगायतका सबै प्रक्रियालाई डिजिटल हस्ताक्षरमार्फत अनलाइन प्रणालीबाट सञ्चालन गरिने बताउनुभयो।उहाँका अनुसार यस प्रणालीले सेवाग्राहीले कार्यालय धाउनुपर्ने बाध्यता कम गर्नुका साथै सेवा प्रवाहलाई छिटो, छरितो र पारदर्शी बनाउन सहयोग पुग्नेछ।
तिलोत्तमा नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै डिजिटल सेवा प्रवाहलाई प्राथमिकतामा राखेको थियो। सोहीअनुसार भवन तथा बस्ती विकास शाखाका सेवाहरूलाई डिजिटल हस्ताक्षरसहित पूर्ण अनलाइन प्रणालीमा लैजाने कार्यक्रम अघि बढाइएको हो।डिजिटल प्रणाली कार्यान्वयन भएपछि सेवाग्राहीले घर नक्सासम्बन्धी कामका लागि पटक–पटक नगरपालिका कार्यालय धाउनुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ। साथै कर्मचारी भेटेर हस्ताक्षर गराउनुपर्ने बाध्यता हट्नुका साथै समय र खर्चसमेत बचत हुने नगरपालिकाको विश्वास छ।
नगरपालिकाले प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाउँदै लैजाने जनाएको छ। डिजिटल हस्ताक्षरबाट हुने घर नक्सासम्बन्धी सेवाले सेवाग्राहीलाई घरबाटै प्रक्रियाको जानकारी लिन तथा आवश्यक कागजात प्राप्त गर्न सहज हुने विश्वास गरिएको छ।
कमेन्ट गर्नुहोस्