लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

इंग्ल्यान्ड विश्वकपमा तेस्रो, एमबाप्पे गोल्डेन बुटको दौडमा शीर्षस्थानमा

IMG

फिफा विश्वकप फुटबल २०२६ मा फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड तेस्रो बनेको छ । अमेरिकाको मियामी रङ्गशालामा आज बिहान भएको खेलमा इंग्ल्यान्डले फ्रान्सलाई ६–४ गोलले हराउँदै तेस्रो स्थान हासिल गरेको हो ।इंग्ल्यान्डले खेलको शुरुआतदेखि नै आक्रामक प्रदर्शन गर्दै पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो । खेलको तेस्रो मिनेटमा डेक्लान राइसले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए । त्यसपछि १८औँ मिनेटमा एज्री कोन्शाले गोल थपे । बुकायो शाकाले ३७औँ मिनेट, पहिलो हाफको इन्जुरी समय र ८७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । अन्तिम इन्जुरी समयमा जुड बेलिङ्घमले अर्को गोल थप्दै इंग्ल्यान्डको जीत सुनिश्चित गरे ।


शाकाको यो ह्याट्रिकसँगै उनी विश्वकपको नकआउट चरणमा ह्याट्रिक गर्ने इंग्ल्यान्डका दोस्रो खेलाडी बने । यसअघि सन् १९६६ को फाइनलमा सर जियोफ हर्स्टले ह्याट्रिक गरेका थिए ।दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमनको प्रयास गरेको थियो । कप्तान किलियन एमबाप्पेले ४८औँ र ६६औँ मिनेटमा दुई गोल गरे भने ब्राडली बारकोलाले ५४औँ मिनेटमा र उस्मान डेम्बेलेले दोस्रो हाफको इन्जुरी समयमा एक/एक गोल थपे । हारका बाबजुद दुई गोल गरेका एमबाप्पेले प्रतियोगितामा आफ्नो गोल संख्या १० पुर्‍याउँदै गोल्डेन बुटको दौडमा शीर्षस्थानमा उक्लिएका छन् । साथै उनी विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता खेलाडीको सूचीमा पनि अग्रस्थानमा पुगेका छन् ।


योसँगै इंग्ल्यान्डले सन् १९६६ मा विश्वकप जितेपछि पहिलो पटक पुरुष विश्वकपमा तेस्रो स्थान हासिल गरेको हो । विश्वकप फुटबलको उपाधिका लागि आज राति पौने १ बजे साबिक विजेता अर्जेन्टिना र सन् २०१० को विजेता स्पेनबीच फाइनल खेल हुनेछ ।

कमेन्ट गर्नुहोस्