
तिलोत्तमा, रुपन्देही। तिलोत्तमा नगरपालिकाले आगामी साउन १ गतेदेखि तीन महिनासम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न सम्पूर्ण लाभग्राहीलाई आग्रह गरेको छ। प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामार्फत नगरपालिकाले तोकिएको अवधिभित्र सम्बन्धित वडा कार्यालयमा उपस्थित भई नवीकरण प्रक्रिया पूरा गर्न अनुरोध गरेको हो।
नगरपालिकाका अनुसार सामाजिक सुरक्षा भत्ता अनिवार्य बायोमेट्रिक प्रणाली तथा इलेक्ट्रोनिक फण्ड ट्रान्सफर (EFT) मार्फत सिधै लाभग्राहीको बैंक खातामा पठाइने व्यवस्था भएकाले सबै लाभग्राहीले नवीकरण गर्नुपर्नेछ।सूचना अनुसार ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक, ६० वर्षमाथिका दलित ज्येष्ठ नागरिक, ५ वर्षमुनिका दलित बालबालिका, अपाङ्गता भएका व्यक्ति, विधवा तथा एकल महिला र लोपोन्मुख जातिका लाभग्राहीले सम्बन्धित वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्नेछ।
यद्यपि, ९० वर्षमाथिका ज्येष्ठ नागरिक तथा पूर्ण अशक्त (क वर्ग) का अपाङ्गता भएका व्यक्तिका हकमा भने वडा कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था नरहेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले सामाजिक सुरक्षा भत्तासम्बन्धी सूचना प्रत्येक घरपरिवारसम्म पुर्याउन टोल विकास संस्थाका प्रतिनिधि, युवा क्लब, बाल समूह तथा स्थानीय समुदायलाई समेत सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
तिलोत्तमा नगरपालिकामा हाल करिब १२ हजार सामाजिक सुरक्षा भत्ता लाभग्राही रहेका छन्। नगरपालिकाका अनुसार सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत प्रत्येक तीन महिनामा करिब ११ करोड रुपैयाँ खर्च हुने गरेको छ।साथै नगरपालिकाले अघिल्लो बर्ष बायोमेट्रिकका लागि थम्ब मेसिन ल्याएको थियो भने यस बर्ष आइरिस मेसिनबाट पनि नविकरण गर्ने बताएको छ। गत २०७८ सालमा राष्ट्रिय परिचयपत्र खिचाएका जेष्ठ नागरिकहरुको धेरै जसोको हातको औलाको रेखा मेटिएकोले आइरिस मेसिनबाट सहज हुने पंजीकरण उपशाखाका युवराज तिवारीले बताए।
यसैबीच, नेपाल सरकारको "सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ" अभियानलाई प्रभावकारी बनाउन तिलोत्तमा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता आवश्यक नभएको भन्दै स्वेच्छाले त्याग गर्ने व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम समेत सञ्चालन गर्ने जनाएको छ। नगरपालिकाले आर्थिक रूपमा सक्षम व्यक्तिहरूलाई सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आवश्यकतामा रहेका नागरिकलाई प्राथमिकता दिन सहयोग गर्न अपिल गरेको छ।
कमेन्ट गर्नुहोस्