
कुञ्जलापुर । तिलोत्तमा नगरपालिकाको आयोजनामा २ दिने नमुना युवा नगर सभा कार्यक्रम आइतबारदेखि सुरु भएको छ।कार्यक्रमको अध्यक्षता सामाजिक विकास समिति संयोजक तथा कार्यपालिका सदस्य रवि सेन्चुरीले गर्नुभएको थियो। कार्यक्रममा प्रशिक्षक प्रकाश उपाध्यायले सहजीकरण गरिरहनुभएको छ।
कार्यक्रमका अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक एवं कार्यपालिका सदस्य रवि सेन्चुरीले युवाहरू आजका मात्र नभई भोलिका नीति निर्माता र नेतृत्वकर्ता भएकाले स्थानीय सरकारको संरचना, कार्यप्रणाली र निर्णय प्रक्रियाबारे जानकारी हुनु आवश्यक रहेको बताउनुभयो।उहाँले नमुना युवा नगर सभा कार्यक्रमले युवाहरूलाई नगर सभाको अभ्यास गराउँदै नेतृत्व विकास, सार्वजनिक बोल्ने कला, तार्किक बहस तथा स्थानीय विकासका मुद्दामा पैरवी गर्ने क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। साथै युवाहरूलाई नगरको विकास र सुशासनका विषयमा रचनात्मक सुझाव दिन तथा स्थानीय तहका गतिविधिमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो।
तिलोत्तमा नगरपालिकाका वडा नम्बर १ देखि १७ सम्मका प्रतिनिधिमूलक करिब १५० जना युवाको सहभागिता रहेको कार्यक्रममा कार्यपालिका सदस्य नर बहादुर छन्तेल, शिक्षा शाखाकी रमा आचार्य तथा भूपति ज्ञवाली,नगरप्रमुख स्वकीय सचिव अर्जुन केसी लगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा नगरपालिकाको विकास निर्माण, नीति तथा योजना सम्बन्धी छलफल, सभा सञ्चालन, नेतृत्व विकास, पैरवी गर्ने सीप तथा स्थानीय सरकारको कार्यप्रणालीबारे ज्ञान प्रदान गरिने जनाइएको छ। साथै सहभागी युवाहरूलाई नमुना नगर सभाको व्यावहारिक अभ्याससमेत गराइने आयोजकले जनाएको छ।
युवाहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्दै स्थानीय तहको नीति निर्माण तथा निर्णय प्रक्रियाप्रति चासो र सहभागिता बढाउने उद्देश्यले आयोजना गरिएको उक्त तालिम सोमबारसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ।
कमेन्ट गर्नुहोस्