
प्रेमनगर। तिलोत्तमा नगरपालिकाको प्रेमनगर क्षेत्रमाथि रहेको ११ केभी क्षमताको हाइटेन्सन विद्युत् लाइनको काठको पोल पुनः ढलेपछि स्थानीयवासी त्रसित बनेका छन्।
स्थानीयका अनुसार करिब ४० वर्षअघि खेतको बीच हुँदै तथा घर नजिकैबाट विस्तार गरिएको उक्त हाइटेन्सन लाइनको पोल केही दिनअघि ढलेको हो। खेतमा काम गरिरहेका किसानहरू पोल ढल्न थालेपछि भागाभाग गर्न बाध्य भएका थिए। खेतमा पानी रहेको अवस्था भए पनि समयमै जोगिन सफल भएकाले मानवीय क्षति हुन पाएन।यसअघि पनि सोही लाइनसँग सम्बन्धित विद्युत् दुर्घटनामा करिब चार वर्षअघि एक जनाको करेन्ट लागेर मृत्यु भइसकेको स्थानीयले बताएका छन्। पछिल्लो समय आएको हावाहुरीका कारण पोल कमजोर बनेको र अहिले पूर्ण रूपमा ढलेको उनीहरूको भनाइ छ।
स्थानीयवासीले विद्युत् लाइनको जोखिमबारे नगरपालिका, स्थानीय सरकार, नेपाल विद्युत् प्राधिकरण तथा संघीय सरकारलाई पटक–पटक जानकारी गराउँदै आए पनि समस्या समाधान नभएको गुनासो गरेका छन्। निर्वाचनका बेला समस्या समाधान गर्ने प्रतिबद्धता जनाउने नेताहरूले त्यसपछि चासो नदिएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।स्थानीय बासिन्दा मधु पाण्डेले आफूले उक्त हाइटेन्सन लाइनको व्यवस्थापनका लागि सम्बन्धित निकायसँग निरन्तर पहल र दबाब सिर्जना गरे पनि हालसम्म कुनै ठोस काम नभएको बताए। समस्या समाधानमा सरोकारवाला निकाय उदासीन देखिएको भन्दै उनले निराशा व्यक्त गरे।
स्थानीयवासीले मानव जीवन र सम्पत्तिमा जोखिम बढ्दै गएको उल्लेख गर्दै हाइटेन्सन लाइन तथा जीर्ण पोलहरूको तत्काल उचित व्यवस्थापन गर्न सम्बन्धित सबै निकायसँग माग गरेका छन्। उनीहरूले ढिलाइ भएमा भविष्यमा ठूलो दुर्घटना हुन सक्ने चेतावनी समेत दिएका छन्।
कमेन्ट गर्नुहोस्