
सुलीकोट, असार ५ गते । अहिले विभिन्न जिल्लाका तराईदेखि पहाडसम्म गर्मीको प्रकोप बढिरहेका बेला गोरखाको अजिरकोट गाउँपालिका–३ भच्चेक बजार शीतलताको खोजीमा पुग्ने आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पछिल्ला दिनहरूमा दैनिक सयौँको सङ्ख्यामा मानिसहरू भच्चेक पुगेर चिसो हावा, हरियाली डाँडाकाँडा र मनोरम हिमशृङ्खलाको दृश्यमा रमाइरहेका छन् ।
समुद्री सतहबाट करिब दुई हजार मिटरको उचाइमा अवस्थित भच्चेक बजार प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो । यहाँ पुग्ने जोकोहीलाई पनि सप्तरङ्गी लालीगुराँसका वन, मौलिक गाउँबस्ती र टाढासम्म फैलिएका हिमालका शृङ्खलाले आनन्दित तुल्याउँछ ।
भच्चेकमा बिहानीको सुनौलो घामसँगै हिमालको चुचुरोमा पर्ने उज्यालो र साँझको रातम्मे आकाशले यस ठाउँलाई झन् मनमोहक बनाउने गरेको छ । गर्मीको चर्को तापबाट केही समय राहत खोज्दै परिवार, साथीभाइ तथा युवायुवतीहरू यहाँ पुग्ने गरेको स्थानीयवासीले बताएका छन् । गर्मी बढेसँगै आन्तरिक पर्यटक अजिरकोटको भच्चेक बजार पुग्ने गरेका लम्की होटलका सञ्चालक सोमबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “जाडोको समयभन्दा गर्मी बढ्न थालेपछि आन्तरिक पर्यटकहरू बढी आउँछन् । अहिले भच्चेकका प्रायः सबै होटल तथा होमस्टेहरू भरिभराउ छन् ।”
अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले भच्चेक बजार केवल एउटा पर्यटकीय गन्तव्य मात्र नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रकृतिको काखमा बसेर मनलाई आनन्द र शान्ति दिने सुन्दर ठाउँ हुनुका साथै यो विभिन्न जातजातिको अपार संस्कार र संस्कृतिको महत्त्वपूर्ण सम्पदा स्थल हो । त्यसैले यहाँ आन्तरिक पर्यटक बढेका हुन् ।”
अहिलेको सहरको कोलाहल र व्यस्त जीवनशैलीबाट केही क्षण टाढा पुगेर यहाँको शीतल हावा सासमा भर्दा मनका थकानहरू आफैँ हराएझैँ अनुभूति हुने चितवनबाट भच्चेक घुम्न आउनुभएका सुदर्शन आचार्यले बताउनुभयो ।
भच्चेकका स्थानीय होटल व्यवसायीका अनुसार पर्यटकको सङ्ख्या बढेसँगै होटल, होमस्टे तथा स्थानीय उत्पादनको व्यापारमा समेत सकारात्मक प्रभाव परी भच्चेक बजारको आर्थिक गतिविधिलाई चलायमान बनाउँदै लगेको छ ।
प्रकृतिको उदार हातले सजाएको भच्चेक यतिबेला गर्मीबाट राहत खोज्नेको साझा आश्रय बनेको छ । शीतल हावापानीसँगै हिमालको मुस्कान र हरियालीको अनुपम उपहारले भच्चेक पुग्ने प्रत्येक आगन्तुकको मन छुने गरेको छ । गर्मीले सताएका मनहरूका लागि भच्चेक यतिबेला साँच्चै प्रकृतिले दिएको शीतल उपहार बनेर चम्किरहेको छ ।
कमेन्ट गर्नुहोस्