
तिलोत्तमा, शंकरपुर। तिलोत्तमा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव गंगाराम आचार्यको सेवा निवृत्तिको अवसरमा आयोजित बिदाइ तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका अध्यक्ष तथा नगरप्रमुख रामकृष्ण खाणले उपसचिव आचार्यले आफ्नो सेवाकालभर शिक्षा क्षेत्रको विकास, विद्यालय व्यवस्थापन सुधार, शैक्षिक गुणस्तर अभिवृद्धि तथा नगरपालिकाको शिक्षा प्रशासनलाई व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभयो। उहाँले आचार्यको इमानदारिता, कर्तव्यनिष्ठा र जिम्मेवार कार्यशैलीबाट आगामी पुस्ताले पनि प्रेरणा लिनुपर्ने बताउँदै सेवा निवृत्त जीवन सुखद, स्वस्थ र सक्रिय रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा नगर उपप्रमुख जागेश्वर देवी चौधरीले गंगाराम आचार्यले शिक्षा क्षेत्रको समग्र उन्नयनका लागि खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। उहाँले नगरपालिकाको शैक्षिक योजनालाई व्यवहारमा उतार्न, विद्यालय तथा समुदायबीच समन्वय कायम गर्न र बालमैत्री तथा गुणस्तरीय शिक्षाको अवधारणालाई संस्थागत गर्न आचार्यको योगदान उल्लेखनीय रहेको धारणा राख्नुभयो। सेवा निवृत्ति प्रशासनिक यात्राको अन्त्य भए पनि समाजसेवा र अनुभव बाँड्ने यात्राको नयाँ सुरुवात भएको उहाँको भनाइ थियो।
प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले उपसचिव आचार्यसँग लामो समय सहकार्य गर्दा उहाँलाई अनुशासित, अध्ययनशील र समाधानमुखी कर्मचारीको रूपमा पाएको स्मरण गर्नुभयो। नगरपालिकाका शैक्षिक कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न, नीतिगत सुधारमा सहजीकरण गर्न तथा कर्मचारीबीच सकारात्मक कार्यसंस्कृति विकास गर्न उहाँले पुर्याएको योगदान सधैं स्मरणीय रहने बताउनुभयो।
जन जागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक पौडेलले शिक्षा प्रशासन र विद्यालयबीचको सम्बन्धलाई मजबुत बनाउन गंगाराम आचार्यले निर्वाह गरेको भूमिका उदाहरणीय रहेको बताउनुभयो। विद्यालयका समस्या समाधान, शिक्षक तथा विद्यार्थीका आवश्यकताप्रति संवेदनशीलता र शैक्षिक गुणस्तर सुधारका लागि उहाँले देखाएको सक्रियताले नगरको शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पारेको धारणा उहाँले व्यक्त गर्नुभयो।शिक्षा समितिका संयोजक कुलप्रसाद लामिछानेले आचार्यको नेतृत्वमा नगरपालिकाले शिक्षा क्षेत्रमा विभिन्न उपलब्धि हासिल गरेको उल्लेख गर्नुभयो। उहाँले शिक्षा क्षेत्रका नीति तथा कार्यक्रम कार्यान्वयनमा आचार्यले देखाएको समर्पण, दूरदृष्टि र कार्यकुशलताको प्रशंसा गर्दै उहाँको योगदान नगरपालिकाको इतिहासमा स्मरणीय रहने बताउनुभयो।
विषयगत समितिका संयोजक सुरेन्द्र श्रीले उपसचिव आचार्यले विभिन्न क्षेत्रका सरोकारवालाबीच समन्वय कायम गर्दै नगरपालिकाका शैक्षिक गतिविधिलाई प्रभावकारी बनाएको बताउनुभयो। उहाँले आचार्यको सरल व्यवहार, सकारात्मक सोच र सहकार्यको भावनाले सबैलाई प्रभावित बनाएको उल्लेख गर्नुभयो।
सम्मानित व्यक्तित्व गंगाराम आचार्यले आफ्नो सेवा अवधिभर आफूलाई साथ, सहयोग र विश्वास प्रदान गर्ने नगर नेतृत्व, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले सेवाकालका अनुभवहरू साझा गर्दै आफूले सदैव शिक्षा क्षेत्रको विकास र विद्यार्थीको उज्ज्वल भविष्यलाई केन्द्रमा राखेर काम गरेको बताउनुभयो। सेवा निवृत्तिपछि पनि शिक्षा, समाजसेवा तथा अनुभव आदानप्रदानमार्फत समाजसँग निरन्तर जोडिइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा उपस्थित विभिन्न जनप्रतिनिधि, वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी तथा शिक्षकहरूले पनि आचार्यको योगदानको प्रशंसा गर्दै उहाँको आगामी जीवन सुखद, स्वस्थ, सम्मानित र सक्रिय रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।कार्यक्रममा उपसचिव आचार्यलाई नगरपालिकाको तर्फबाट मायाको चिनो, सम्मानपत्र, खादा तथा अबिर लगाई सम्मानपूर्वक बिदाइ गरिएको थियो। भावुक वातावरणमा सम्पन्न कार्यक्रमले उहाँप्रति नगरपालिकाको उच्च सम्मान र कदरलाई प्रतिबिम्बित गरेको सहभागीहरूको भनाइ थियो।
शिक्षा अधिकृत धनि प्रसाद शर्माले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सहभागीहरूले गंगाराम आचार्यको समर्पित सार्वजनिक सेवाको उच्च मूल्यांकन गर्दै उहाँले पुर्याएको योगदानलाई दीर्घकालसम्म स्मरण गरिने विश्वास व्यक्त गरेका थिए। शंकरपुरमा आयोजित कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, नगरप्रहरी, बालमैत्री सहजकर्ता तथा विभिन्न सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।
कमेन्ट गर्नुहोस्