लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सैनामैनामा ‘लु’ का लागि विशेष उपचार कक्ष

IMG

बुटवल, जेठ २२ गते । तराईमा हुने तातो हावाको लहर (लु) बाट उत्पन्न हुने जोखिमलाई ध्यानमा राखी रुपन्देहीको सैनामैना नगरपालिका–४, मुर्गियामा रहेको नगर अस्पतालमा ‘लु’ प्रभावित बिरामीको उपचारका लागि विशेष कक्ष स्थापना गरिएको छ ।


सैनामैना नगरपालिका, नेपाल रेडक्रस सोसाइटी र स्विस रेडक्रसको सहकार्यमा सञ्चालित सहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवर्धन सुपर परियोजना अन्तर्गत उक्त उपचार कक्षको स्थापना गरिएको हो । सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले बढ्दो गर्मी र लुबाट सिर्जित जोखिमबाट प्रभावितको उपचारका लागि विशेष कक्ष स्थापना गरिएको जानकारी दिनुभयो । 


उहाँले सैनामैनामा ‘लु’ बाट प्रभावित बिरामीको उपचारका लागि नयाँ अध्याय सुरु भएको बताउँदै तराईमा गर्मी र तातो हावाका कारण कसैको पनि मृत्यु नहोस् भन्ने उद्देश्यले उपचार कक्ष स्थापना गरिएको बताउनुभयो ।  विशेष उपचार कक्षमा बिरामीका लागि आवश्यक औषधी, बिरामीको अवस्था जाँच गर्ने स्वास्थ्य उपकरणको व्यवस्था गरिएको छ । यसअघि सैनामैना नगरपालिकाले रेडक्रससँगको सहकार्यमा सैनामैनाका विद्यालय तथा स्वास्थ्य चौकीलाई सहायता सामग्री वितरण गरेको थियो । सुपर परियोजना अन्तर्गत रहेका १४ वटा विद्यालय र ११ वटै स्वास्थ्य संस्थालाई एक÷एक वटा कुलर र तीन÷तीन वटा पङ्खा प्रदान गरिएको थियो । 


नेपाल रेडक्रस सोसाइटीको सुपर परियोजनाका रुपन्देही जिल्ला अधिकृत कृष्ण मल्लले तातो हावाको लहरबाट बचाउन यस्ता सहायता सामग्रीले ठुलो सहयोग पुग्ने बताउनुभयो ।  सैनामैना नगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज न्यौपानेले परियोजनाले दिएको प्रभाव समाजमा सकारात्मक देखिएको बताउँदै अब पूर्वतयारी र तातो हावाले गर्ने क्षतिसँग सम्बन्धित रहेर काम गर्ने बताउनुभयो । 

कमेन्ट गर्नुहोस्