
सिमानगर। तिलोत्तमा नगरपालिका वडा नं. ४ का महिलाहरूलाई स्वरोजगार तथा उद्यमशीलतामा जोड्ने उद्देश्यले सञ्चालन गरिएको १५ दिने पानीपुरी(फुल्की), टिकिया चाट, समोसा मटर तथा जलेवी (जेरी) बनाउने सीपमूलक तालिम सम्पन्न भएको छ। “महिलासँग तिलोत्तमा” कार्यक्रम अन्तर्गत नगरपालिकाले बजेट व्यवस्था गरी सञ्चालन गरेको उक्त तालिमले महिलाहरूलाई आयआर्जनका नयाँ अवसर सिर्जना गर्न सहयोग पुर्याएको सहभागीहरूले बताएका छन्।
तालिम समापन कार्यक्रममा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वर देवी चौधरीको अध्यक्षता रहेको थियो भने नगर प्रमुख रामकृष्ण खाण प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा वडा नं. ४ का अध्यक्ष हरि बहादुर क्षेत्री अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।समापन कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाणले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन नगरपालिकाले विभिन्न सीपमूलक तथा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले सीप सिकेर मात्र नरोकी त्यसलाई व्यवहारमा उतार्दै व्यवसाय सञ्चालन गर्न सहभागी महिलाहरूलाई आग्रह गर्नुभयो। स्थानीय स्तरमै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न यस्ता तालिम प्रभावकारी हुने उहाँको भनाइ थियो।
कार्यक्रमकी अध्यक्ष उपप्रमुख जागेश्वर देवी चौधरीले महिलाको आर्थिक सशक्तीकरण नगरपालिकाको प्राथमिकतामा रहेको बताउँदै सीप, आत्मविश्वास र अवसरको संयोजनले महिलाहरूलाई सफल उद्यमी बनाउन सकिने उल्लेख गर्नुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवसायिक रूपमा प्रयोग गरी परिवारको आयस्तर वृद्धि गर्न सहभागीहरूलाई प्रेरित गर्नुभयो।
१५ दिनसम्म सञ्चालन भएको तालिममा सहभागी महिलाहरूलाई पानीपुरी, टिकिया चाट, समोसा मटर तथा जलेवी बनाउने सम्पूर्ण प्रक्रिया व्यावहारिक रूपमा सिकाइएको थियो। खाद्य सामग्रीको छनोट, स्वाद व्यवस्थापन, सरसफाइ, परिकार तयारी, ग्राहक आकर्षित गर्ने प्रस्तुतीकरण तथा साना व्यवसाय सञ्चालनका आधारभूत पक्षहरूबारे समेत प्रशिक्षण प्रदान गरिएको थियो।
तालिमका मुख्य प्रशिक्षक मणिग्रामस्थित वाइकिकी रेस्टुरेन्टका सञ्चालक खुम बस्नेत रहनुभएको थियो भने सहायक प्रशिक्षकका रूपमा मिन्टु गुप्ताले सहजीकरण गर्नुभएको थियो। प्रशिक्षकहरूले सहभागीहरूलाई व्यवसायिक स्तरमा गुणस्तरीय परिकार उत्पादन गर्ने तरिका, लागत व्यवस्थापन तथा बजारको मागअनुसार उत्पादन गर्ने सीप प्रदान गर्नुभएको थियो।तालिममा सहभागी महिलाहरूले सिकेको सीपबाट घरमै सानो व्यवसाय सुरु गर्न सकिने विश्वास व्यक्त गरेका छन्। धेरै महिलाले तालिमले आत्मविश्वास बढाएको, नयाँ व्यवसायिक सोच विकास गरेको तथा आफ्नै आयआर्जनको बाटो खोलिदिएको प्रतिक्रिया दिएका छन्।
कार्यक्रमको सञ्चालन बरिष्ठ सामाजिक परिचालिका अल्पा घिमिरेले गर्नुभएको थियो। समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने तालिम अवधिभर तयार गरिएका विभिन्न परिकारहरूको प्रदर्शनी समेत गरिएको थियो।महिलाहरूलाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्दै आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिम तिलोत्तमा नगरपालिकाको महिला विकास तथा सशक्तीकरण अभियानअन्तर्गत महत्वपूर्ण कार्यक्रमका रूपमा सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।
कमेन्ट गर्नुहोस्