लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पर्यटकको पहिलोरोजाई बन्दै शंकरनगर बनबाटिका,सेल्फीजोन र प्रकृतिले तान्यो दर्शक

IMG

तिलोत्तमा। शंकरनगर वनबाटिका पछिल्लो समय आन्तरिक पर्यटकको पहिलो रोजाइ बन्दै गएको छ। प्राकृतिक सौन्दर्य, आधुनिक संरचना, मनोरञ्जनका विविध माध्यम तथा पारिवारिक वातावरणका कारण रुपन्देहीसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट दैनिक सयौंको संख्यामा पर्यटक यहाँ पुग्ने गरेका छन्।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १ र २ को भूभागमा फैलिएको यो पर्यटकीय क्षेत्र अहिले परिवार, साथीभाइ, विद्यार्थी समूह तथा विभिन्न संघसंस्थाको आकर्षणको केन्द्र बनेको छ। प्राकृतिक हरियालीसँगै आधुनिक मनोरञ्जनका संरचनाले सजिएको वनबाटिका पछिल्ला वर्षहरूमा व्यवस्थित रूपमा विकास हुँदै गएको देखिन्छ।वनबाटिकामा प्रवेश गर्नेबित्तिकै आकर्षक स्वागतद्वार, हरियाली वातावरण र व्यवस्थित बगैंचाले पर्यटकलाई लोभ्याउने गरेको छ। परिसरभित्र रहेका गार्डेन, झण्डा बगान, बाँसबाट तयार गरिएको शीतल बेम्बो बगान तथा विभिन्न शैलीका पार्कहरूले आगन्तुकलाई छुट्टै अनुभूति दिने गरेका छन्। बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि रमाइलो गर्न सकिने विभिन्न संरचना निर्माण गरिएकाले यो क्षेत्र सबै उमेर समूहका लागि उपयुक्त गन्तव्य बन्दै गएको छ।

वनबाटिकाभित्र निर्माण गरिएको जु पार्क तथा वन्यजन्तु पार्कले विशेषगरी बालबालिकालाई आकर्षित गर्ने गरेको छ। यससँगै घोडा चढ्ने सुविधा, पाण्डा मोनोरेल, लिग रेल, डुंगा सयर तथा साहसिक खेलका गतिविधिले पर्यटकलाई थप रोमाञ्चित बनाउने गरेको छ। साइकलिङको छुट्टै व्यवस्था गरिएकाले युवापुस्ताको आकर्षण अझ बढेको स्थानीय व्यवसायीहरू बताउँछन्।त्यस्तै, वनबाटिकाभित्र रहेका पिङ, झुला तथा मनोरञ्जनका अन्य संरचनाले पारिवारिक घुमघामलाई अझ रमाइलो बनाउने गरेका छन्। पिकनिकका लागि छुट्टै व्यवस्थापन गरिएको खुला क्षेत्र, समूहगत भेटघाट तथा गेट–टुगेदर गर्न सकिने वातावरणले यहाँ दैनिकजसो विभिन्न कार्यक्रम आयोजना हुने गरेका छन्। विद्यालय, कलेज, कार्यालय तथा सामाजिक संस्थाहरूले समेत वनबाटिकालाई उपयुक्त गन्तव्यका रूपमा रोज्ने गरेका छन्।

पर्यटकको सहजतालाई ध्यानमा राख्दै व्यवस्थित पार्किङ स्थल, सरसफाइ, विश्रामस्थल तथा अन्य आधारभूत सुविधाको विस्तार गरिएको छ। यही कारण पछिल्लो समय वनबाटिका केवल घुमफिर गर्ने स्थल मात्र नभई पारिवारिक समय बिताउने, मनोरञ्जन लिने तथा प्राकृतिक वातावरणसँग रमाउने उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

वनबाटिका व्यवस्थापन समितिका अध्यक्ष खिमलाल पाण्डेले पर्यटकको रोजाइलाई मध्यनजर गर्दै वनबाटिकालाई अझ परिष्कृत र आकर्षक बनाउने काम निरन्तर अगाडि बढिरहेको बताए। उनका अनुसार अहिले भइरहेका संरचनालाई थप व्यवस्थित गर्नुका साथै नयाँ मनोरञ्जनात्मक गतिविधि विस्तार गर्ने योजना रहेको छ। “शंकरनगर वनबाटिकालाई लुम्बिनी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यका साथ काम गरिरहेका छौं,” उनले बताए।

त्यस्तै व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका सचिव बिदुर केसीले पर्यटकको चाहना र समयको मागअनुसार नयाँ–नयाँ संरचना तथा मनोरञ्जनका क्षेत्र विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार वनबाटिकालाई अझ आधुनिक र सुविधासम्पन्न बनाउन विभिन्न योजनामा काम भइरहेको छ।स्थानीयवासीका अनुसार शंकरनगर वनबाटिकाको विकाससँगै आसपासका क्षेत्रमा आर्थिक गतिविधि समेत बढ्न थालेको छ। होटल, रेष्टुरेन्ट, साना व्यवसाय तथा स्थानीय उत्पादनको व्यापारमा सकारात्मक प्रभाव परेको उनीहरूको भनाइ छ।

प्राकृतिक वातावरण, हरियाली सौन्दर्य, आधुनिक मनोरञ्जनका साधन तथा पारिवारिक वातावरणका कारण शंकरनगर वनबाटिका अहिले रुपन्देही क्षेत्रकै आकर्षक पर्यटकीय गन्तव्यको रूपमा परिचित बन्दै गएको छ। छुट्टीको समय सदुपयोग गर्न, साथीभाइसँग रमाइलो गर्न, परिवारसँग घुम्न वा समूहगत कार्यक्रम आयोजना गर्न चाहनेहरूका लागि यो स्थल उपयुक्त गन्तव्यको रूपमा स्थापित हुँदै गएको देखिन्छ।


कमेन्ट गर्नुहोस्