लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको गौरव :विकासको मेरुदण्ड मंगलापुर–कान्छीबजार सडकखण्ड समूद्घाटन

IMG

केवलानी। तिलोत्तमा नगरपालिकाको गौरवका रूपमा हेरिएको मंगलापुर–कान्छीबजार सडक खण्डको समुद्घाटन सम्पन्न भएको छ। नगरप्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वर देवी चौधरी तथा विश्व बैंकका कन्ट्री डाइरेक्टर अञ्जना झा ले संयुक्त रूपमा सडक खण्डको उद्घाटन गर्नुभएको हो।


समुद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले तिलोत्तमालाई आधुनिक, व्यवस्थित र विकासोन्मुख नगरका रूपमा स्थापित गर्ने लक्ष्यअनुसार पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँले मंगलापुर–कान्छीबजार सडक खण्ड तिलोत्तमाको समृद्धिको मेरुदण्ड बन्ने विश्वास व्यक्त गर्दै सडक निर्माणपछि यस क्षेत्रको विकासमा अर्को महत्वपूर्ण खुड्किलो थपिएको धारणा राख्नुभयो।उपप्रमुख जगेश्वर देवी चौधरीले सडक निर्माणपछि यस क्षेत्रको सामाजिक तथा आर्थिक विकासले नयाँ गति लिने बताउनुभयो। उहाँले व्यवस्थित सडक सञ्जालले शिक्षा, स्वास्थ्य, व्यापार तथा पर्यटन क्षेत्रलाई थप सुदृढ बनाउने उल्लेख गर्नुभयो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले यस क्षेत्रका आम जनतालाई सहज किसिमले आवत जावत गर्न मात्रै नभएर ब्यबसायिक, कृषि तथा अब्यपार बिस्तार संगै जिबनस्तर उकास्न मद्धत पुग्नेमा आशाबादी रहेको बताउनुभयो। 


विश्व बैंकको सहयोग तथा शहरी विकास मन्त्रालय अन्तर्गत शहरी शासकीय तथा पूर्वाधार आयोजना (एन.यु.जी.आई.पी.) मार्फत निर्माण भइरहेको उक्त सडक तिलोत्तमाको पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। आधुनिक प्रविधि तथा अस्फाल्ट मेट्रियल प्रयोग गरी निर्माण भइरहेको यस सडक आयोजनाको कुल लागत करिब ७९ करोड ५५ लाख रुपैयाँ रहेको नगरपालिकाका योजना प्रमुख इन्जिनियर प्रदीप वनले जानकारी दिनुभयो।


उहाँका अनुसार सडक निर्माणसँगै खानेपानी, विद्युत् तथा टेलिफोनका पोल व्यवस्थापनको कामसमेत सम्पन्न गरिएको छ। यसले दीर्घकालीन रूपमा व्यवस्थित शहरीकरणलाई टेवा पुग्ने अपेक्षा गरिएको छ।मंगलापुर चोकदेखि पूर्वतर्फ केन्द्रित यो सडक खण्ड करिब ६.५ किलोमिटर क्षेत्रलाई समेट्ने योजनासहित अघि बढाइएको हो। सडक बेवरा–कान्छीबजार खण्ड अन्तर्गत १.८४ किलोमिटर क्षेत्रमा निर्माण कार्य सुरु गरिएको जानकारी दिँदै इन्जिनियर प्रदीप वनले सडकलाई आधुनिक र व्यवस्थित ढाँचामा निर्माण गरिएको बताउनुभयो।


कार्यक्रममा बोल्दै निवर्तमान वडा अध्यक्ष दुर्गा पाण्डे ले सडक निर्माणसँगै यस क्षेत्रको आर्थिक गतिविधि थप चलायमान बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सडकले स्थानीय उत्पादन, व्यापार तथा आवागमनलाई सहज बनाउँदै समग्र विकासलाई गति दिने बताउनुभयो।त्यस्तै, निर्माण कम्पनी सगुन कन्स्ट्रक्सनका संचालक सहदेव खड्का ले गुणस्तरीय निर्माणलाई प्राथमिकता दिइएको उल्लेख गर्दै निर्धारित समयभित्र बाँकी काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।नगरपालिकाका योजना प्रमुख इन्जिनियर प्रदीप वनले यो सडक केवल यातायातको माध्यम मात्र नभई तिलोत्तमाको दीर्घकालीन शहरी विकासको आधार भएको बताउनुभयो। उहाँले आधुनिक पूर्वाधारसहितको सडकले लगानी, व्यापार, पर्यटन र रोजगारीका अवसर सिर्जना गर्ने धारणा राख्नुभयो।


विश्व बैंकको सहयोगमा निर्माण भइरहेको यो सडक आयोजना सम्पन्न भएपछि तिलोत्तमाको आन्तरिक यातायात व्यवस्थापन सहज हुने, व्यापारिक गतिविधि विस्तार हुने तथा पर्यटकीय सम्भावना थप प्रबल बन्ने अपेक्षा गरिएको छ। स्थानीयवासीले समेत सडक निर्माणलाई नगरको दीर्घकालीन विकाससँग जोडिएको महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।फुटपाथ, नाली तथा अन्य पूर्वाधारसहित ४३ फिट चौडाइ कायम गरिएको यस सडकको हालसम्म ६.८७ किलोमिटर निर्माण सम्पन्न भइसकेको छ भने बाँकी रोहिणी पुलसम्मको खण्डको निर्माण कार्य क्रमशः अघि बढाइने नगरपालिकाले जनाएको छ। यो सडक वडा नं. ७, वडा नं. ९ र वडा नं. १० लाई प्रत्यक्ष रूपमा जोड्ने महत्वपूर्ण मार्गका रूपमा विकास भइरहेको छ।

कमेन्ट गर्नुहोस्