
शारदा शाही, शंकरपुर। रूपन्देहीको तिलोत्तमा नगरपालिका–६ मा रहेको सुकुम्बासी बस्तीका नागरिकहरूले वर्षौंदेखि बसोबास गर्दै आए पनि अझै लालपुर्जा प्राप्त गर्न नसकेको गुनासो गरेका छन्। नगरपालिका कार्यालय नजिकै रहेको उक्त बस्तीलाई स्थानीयले लामो समयदेखि “सुकुम्बासी बस्ती” का रूपमा चिन्ने गरेका छन्।सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको विवरण संकलन, नापजाँच र प्रमाणीकरणको काम सम्पन्न भइसकेको छ।
स्थानीयवासीहरूका अनुसार सरकारले उपलब्ध गराएको टोकनको आधारमा उनीहरूले वर्षौंदेखि तिरो तिर्दै आएका छन्। घरजग्गाको नापीसमेत सम्पन्न भइसकेकाले आफूहरूलाई यही स्थानमा स्थायी रूपमा बसोबास गर्न दिने र भविष्यमा लालपुर्जा प्राप्त हुनेमा आशावादी रहेको उनीहरूको भनाइ छ।स्थानीयले आफूहरूलाई अन्यत्र हटाउने कुनै सूचना हालसम्म नआएको पनि बताएका छन्।
तिलोत्तमा नगरपालिकाले भने भूमिहीन तथा सुकुम्बासी नागरिकको समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै काम अगाडि बढाइरहेको जनाएको छ। नगरपालिकाका अनुसार यसअघि वडा नम्बर ५ मा १३ जना र वडा नम्बर १४ मा १४ जना जग्गाधनीलाई लालपुर्जा वितरण गरिसकिएको छ।नगरपालिकाको तथ्यांकअनुसार हाल तिलोत्तमाभित्र भूमिहीन दलित ६३४, भूमिहीन सुकुम्बासी १ हजार ८४४ र अव्यवस्थित बसोबासी ६ हजार २६५ गरी कुल ८ हजार ७४३ जना रहेका छन्।
भूमि समस्या समाधान आयोग काठमाडौंको तर्फबाट तिलोत्तमा नगरपालिकामा कार्यरत अमिन दिपेन्द्रप्रसाद चौधरीका अनुसार सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको विवरण संकलन, नापजाँच र प्रमाणीकरणको धेरै काम सम्पन्न भइसकेको छ। र बाँकी रहेका केही ठाउँमा जिल्लासँग समन्वय गरी काम अगाडि बढाइएको छ।त्यसैगरी केही वडामा भने लालपुर्जा वितरणको तयारी भए पनि आयोगको काम अगाडि बढ्न नसक्दा वितरण प्रक्रिया ढिलाइ भएको उहाँले बताउनुभयो। नगरपालिकाले हालसम्म सुकुम्बासी बस्ती खाली गर्न कुनै सूचना जारी नगरेको जनाएको छ।
कमेन्ट गर्नुहोस्