
पुरानो सडक, मणिग्राम। तिलोत्तमा नगरपालिका वडा नम्बर-६ को आयोजना तथा वडा बाल सञ्जालको सहआयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। बालबालिकामा रहेको अन्तरनिहित प्रतिभाको पहिचान, अभिव्यक्ति क्षमता विकास तथा नेतृत्वदायी क्षमताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिता उत्साहजनक सहभागितासहित सम्पन्न भएको हो।"बालमैत्री समाज निर्माणमा स्थानिय तहको भुमिका " बिषयक सो बक्तृत्वकला प्रतियोगितामा वडाका ८ वटा टोल र ३ वटा बिद्यालय गरि जम्मा १३ जना सहभागीहरुले भाग लिएका थिए।
कार्यक्रम वडा स्तरिय बाल सञ्जालकी अध्यक्ष आकृति पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो। अध्यक्ष पाण्डेले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा लुकेर रहेका प्रतिभालाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै बालबालिकालाई सिर्जनात्मक र आत्मविश्वासी बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।कार्यक्रममा प्रमुख अतिथि गणेश पाठक द्वारा विद्यार्थीको अन्तर्निहित प्रतिभा उजागर गर्न र नेतृत्वमा अगाडी बढाउन यस्तो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो। उहाँले बालबालिकालाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै यस्ता प्रतियोगिताले भविष्यका सक्षम नागरिक तयार गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो।
प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूले समसामयिक विषयवस्तु, सामाजिक चेतना, शिक्षा, अनुशासन, बालअधिकार तथा व्यक्तित्व विकाससँग सम्बन्धित विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए। प्रतियोगितामा विद्यार्थीहरूको प्रस्तुति प्रभावकारी, तार्किक र आत्मविश्वासपूर्ण रहेको आयोजकले जनाएको छ। बक्तृत्वकला प्रतियोगिताको नतिजाअनुसार आकृति पाण्डे प्रथम, अरुणा अधिकारी द्वितीय, बन्दना भुषाल तृतीय तथा दिपा वि.क सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्। विजयी प्रतियोगीहरूलाई क्रमशः ६ हजार, ४ हजार ५ सय , ३ हजार तथा १ हजार ५ सय रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर ६ की सदस्य सिता गौतमले शुभकामना मन्तव्य व्यक्त गर्दै बालबालिकाको क्षमता विकासका लागि वडा कार्यालय सधैं सकारात्मक रहेको बताउनुभयो।प्रतियोगिताको मूल्याङ्कन निर्णायक मण्डल संयोजक क्षत्रराज गौतम, शरद भट्टराई तथा सदस्य सिता घिमिरे भण्डारीले गर्नुभएको थियो। निर्णायकहरूले विद्यार्थीहरूको विषयवस्तुको ज्ञान, प्रस्तुतीकरण शैली, उच्चारण, आत्मविश्वास तथा समय व्यवस्थापनका आधारमा मूल्याङ्कन गरिएको जानकारी दिएका थिए।
कार्यक्रमको सञ्चालन वडा सचिव कृष्ण बहादुर क्षेत्रीले गर्नुभएको थियो। उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागी, शिक्षक, अभिभावक तथा आयोजकप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो। प्रतियोगितामा वडा सदस्य पूर्णप्रसाद आचार्य संजय, गीता गन्धर्व, स्वास्थ्य चौकी इन्चार्ज रमा प्रसाद चुंदाली, सुन्दर टोल बिकासका अध्यक्ष देवी प्रसाद न्यौपाने, वडा भित्र रहेका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरु, प्रधानाध्यापक बिद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागी विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमले विद्यार्थीहरूमा बोल्ने कला, आत्मविश्वास तथा सिर्जनात्मक सोचको विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन्।
कमेन्ट गर्नुहोस्