लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बिटुमिन अभाव र इन्धन वृद्धिले कालोपत्रे योजना प्रभावित, निर्माण व्यवसायी मारमा

IMG

मुक्ति तिवारी /नवलपरासी ।देशभर सडक कालोपत्रे निर्माणमा प्रयोग हुने मुख्य कच्चा पदार्थ बिटुमिनको अभाव भएपछि विभिन्न विकास आयोजना प्रभावित हुन थालेका छन् ।विशेष गरी निर्माणको मुख्य सिजनमै बिटुमिन पर्याप्त मात्रामा उपलब्ध हुन नसक्दा सडक कालोपत्रे कार्य सुस्त बनेको निर्माण व्यवसायीहरूले बताएका छन् ।निर्माण व्यवसायीका अनुसार आयात प्रक्रिया ढिलाइ, आपूर्ति व्यवस्थापनमा समस्या तथा बजारमा सीमित उपलब्धताका कारण बिटुमिन अभाव सिर्जना भएको हो ।


यसको प्रत्यक्ष असर सङ्घ, प्रदेश तथा स्थानीय तहअन्तर्गत सञ्चालित सडक निर्माण तथा स्तरोन्नति योजनामा परेको छ । विशेष गरी स्थानीय तहको मुख्य विकासको आधार मानिएको सडक सञ्जालको कालोपत्रेका लागि बिटुमिन अभावले अन्य क्षेत्र पनि प्रभावित हुन सक्ने बताइन्छ ।बिटुमिन अभावका कारण कतिपय स्थानमा कालोपत्रे कार्य रोकिएको छ भने केही आयोजनामा निर्माण कम्पनीहरूले कामको गति घटाएका छन्। समयमै सामग्री उपलब्ध नहुँदा निर्धारित समयमा योजना सम्पन्न गर्न चुनौती थपिएको निर्माण पक्षको भनाइ छ ।


स्थानीय तहहरूले वर्षा याम अघि सडक कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखे पनि आवश्यक सामग्री अभावले काम प्रभावित बनेको जनाएका छन् ।विशेष गरी ग्रामीण सडक, नगरभित्रका कालोपत्रे योजना तथा रणनीतिक सडक आयोजनामा यसको असर देखिन थालेको छ । एकातिर बिटुमिन अभाव र अर्कातिर इन्धनमा भएको मूल्य वृद्धिले निर्माण व्यवसायी थप मारमा परेका छन् । बिटुमिन अभावले समयमै आयोजनाहरू निर्माण सम्पन्न गर्न कठिनाइ हुने देखिएको बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले बताए । नवलपरासी पश्चिममा मात्रै यिनै विविध कारणले ७० प्रतिशत विकास निर्माणका आयोजना प्रभावित भएको सरोकारवालाले बताएका छन् ।


“एक त बिटुमिन पाइएको छैन, अर्कातिर चरम मूल्य वृद्धि, लागत स्ट्मेट एउटा रेटमा छ तर कच्चा पदार्थको  मूल्य वृद्धिले आकाश छोएको छ, हामी त मारमा त छौ नै यता काम नहुने अवस्था आउँदा विकास निर्माण नै अधुरो रहने अवस्था आएको छ ” बर्दघाटमा रहेको दाउन्ने कन्स्ट्रक्सनका सञ्चालक रामु भण्डारी (युके) ले बताए ।निर्माण व्यवसायीहरूले सरकारसँग बिटुमिनको सहज आयात तथा वितरण व्यवस्था मिलाउन माग गरेका छन् । समयमै समस्या समाधान नभए विकास निर्माणको काम थप प्रभावित हुने तथा लागत समेत बढ्न सक्ने उनीहरूले चेतावनी दिए ।

कमेन्ट गर्नुहोस्