
गितामन्दिर। तिलोत्तमा नगरपालिका–६ आनन्दबनमा कृषि प्रविधि, माटो, मल तथा बिउ सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ। आनन्दबन सहकारी संस्था लिमिटेडको आयोजना तथा तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त तालिम कार्यक्रम कृषकहरुलाई आधुनिक कृषि ज्ञान र प्रविधिसँग परिचित गराउने उद्देश्यका साथ आयोजना गरिएको थियो।
कार्यक्रमको अध्यक्षता सहकारी संस्थाका अध्यक्ष केशवराज न्यौपानेले गरेका थिए भने प्रमुख अतिथिका रूपमा उपस्थित तिलोत्तमा नगरपालिकाका प्रतिनिधि रामकृष्ण खाणले कृषकहरुको क्षमता अभिवृद्धिका लागि यस्ता तालिमहरू अत्यन्तै महत्वपूर्ण हुने बताएका थिए। उनले कृषि क्षेत्रमा नयाँ प्रविधिको प्रयोग, उन्नत बिउको प्रयोग, मल व्यवस्थापन तथा उत्पादन वृद्धिमा तालिमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यसले कृषकहरुलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरे।
तालिमका मुख्य प्रशिक्षक नगरपालिकाका कृषि शाखा प्रमुख दोमलाल भुसाल रहेका थिए। उनले माटो परीक्षण, उपयुक्त मल प्रयोग, उन्नत बिउ छनोट तथा आधुनिक कृषि प्रविधिको प्रयोगबारे विस्तृत जानकारी दिएका थिए। साथै प्रशिक्षकद्वय तेज नारायण गैरे र कृषि अधिकृत सौरभ बस्ताकोटीले व्यावहारिक अभ्याससहित कृषकहरुलाई उत्पादन वृद्धि गर्ने उपायहरूबारे प्रशिक्षण दिएका थिए।
कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष माधव पाठक, गणेशपुर टोलका अध्यक्ष चुरामणि पाण्डे, ध्रुव, पूर्व पहुनी टोलका अध्यक्ष सुना श्रीस लगायतका वक्ताहरूले तालिमबाट कृषि औजार, प्रविधि तथा बिउ–मल सम्बन्धी महत्वपूर्ण ज्ञान हासिल भएको बताएका थिए। उनीहरूले यस्ता कार्यक्रमले कृषकहरुलाई व्यवहारिक रूपमा सक्षम बनाउने धारणा व्यक्त गरे।
कार्यक्रममा सुन्दर टोल विकास संस्थाका अध्यक्ष देवी प्रसाद न्यौपाने, आनन्दबन टोलका छबिलाल भण्डारी, हरियाली टोलका राजन केसी, कुञ्ज टोलका पदम बहादुर राना, लेखा संयोजक डोलराज बस्याल, बाँसघारी देवी टोलका मोहनीलाल आचार्य, सदस्यहरू सिता बस्याल, सरस्वती काफ्ले, स्वरुपा कोइराला, व्यवस्थापक अनिस भुसाल लगायतको सहभागिता रहेको थियो। तिलोत्तमा नगरपालिका वडा नम्बर १ देखि ६ सम्मका प्रतिनिधिमूलक कृषक तथा टोल विकास संस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
दुई दिनसम्म सञ्चालन भएको उक्त तालिम कार्यक्रमको सञ्चालन उमा ढकालले गरेकी थिइन्। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएसँगै सहभागी कृषकहरूले सिकेका ज्ञानलाई व्यवहारमा उतार्दै कृषि उत्पादन वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कमेन्ट गर्नुहोस्