
तुलसीपुर, वैशाख १७ गते । विश्वमा बढ्दो हिंसा, द्वन्द्व, असहिष्णुता र अशान्तिको अन्त्यका लागि भगवान् गौतम बुद्धका सन्देश आज सान्दर्भिक र अपरिहार्य बनेका छन् ।
२५७० औँ बुद्ध जयन्तीको अवसरमा तुलसीपुर मेट्रो कलेजले आयोजना गरेको ‘बुद्धले फैलाएको शान्तिको सन्देश र आजको सन्दर्भ’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले विश्वशान्ति स्थापनाका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले समाजमा बढ्दो असहिष्णुता, हिंसा र नैतिक विचलनका कारण अशान्ति फैलिरहेको उल्लेख गर्दै बुद्धका पञ्चशील सिद्धान्तले सभ्य, नैतिक र शान्त समाज निर्माणमा मार्गदर्शन गर्ने बताउनुभयो ।
उहाँले प्राणीहत्या नगर्ने, चोरी नगर्ने, दुराचार नगर्ने, असत्य नबोल्ने र मादक पदार्थ सेवन नगर्ने बुद्धका सिद्धान्तको महत्त्वमाथि प्रकाश पार्दै उपमहानगरपालिकाले सञ्चालन गरेको कलेजमा समेत बुद्धका ज्ञान र विचारका विषयमा अध्यापन गराउँदै आएको जानकारी दिनुभयो ।
कलेजका बौद्ध दर्शन विषयका सहप्राध्यापक किशोर अर्यालले मानव जीवनमा बढ्दो तनाव, हिंसा र द्वेषको अन्त्य गरी आन्तरिक शान्ति स्थापना गर्न बुद्धका वचन अत्यन्त उपयोगी रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले बुद्धका उपदेश केवल धार्मिक शिक्षा मात्र नभई जीवन जिउने व्यावहारिक कला भएको बताउनुभयो ।त्यस्तै, लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रतिनिधि पवन यादवले विश्वमा दिगो शान्ति स्थापना गर्न बौद्ध शिक्षा र दर्शनको अध्ययन तथा अनुसरण आवश्यक रहेको बताउनुभयो । कलेजको कानुन स्नातक तहमा अध्ययनरत विद्यार्थी अञ्जली शाहले बुद्धका शिक्षाले मानव जीवन, समाज र विश्वमा पारेको सकारात्मक प्रभावबारे चर्चा गर्नुभयो ।
कलेज प्रमुख वसन्त आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले बुद्ध वन्दना प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन कलेजका सुधा सुमन ढकालले गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्