
दाङ, वैशाख १७ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारू समुदायको परम्परागत कला, संस्कृति र पहिचानलाई पुस्तान्तरण गर्न समुदाय स्वयंले विशेष पहल लिनुपर्ने बताउनुभएको छ।
थारू आयोगले राप्ती उपत्यका (देउखुरी)मा बिहीबार आयोजना गरेको थारू समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्थासम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले थारू समुदाय मौलिक कला र संस्कृतिमा धनी भए पनि युवा पुस्तामा यसको प्रभावकारी हस्तान्तरण हुन नसकेको उल्लेख गर्नुभयो।
थारू समुदायको पहिचान यसको कला, संस्कृति, सभ्यता, संस्कार र भाषाले निर्धारण गर्छ । त्यसैले यी मूल्यहरू पुस्तान्तरण गर्न समुदायबाटै विशेष जोड दिन आवश्यक छ, उहाँले भन्नुभयो। मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले संस्कृति संरक्षण, सम्वर्धन र प्रवर्धनका लागि विभिन्न कार्यक्रम अघि बढाएको जानकारी दिनुभयो ।
उहाँका अनुसार वरघरसम्बन्धी ऐन मन्त्रिपरिषदबाट पारित भई प्रदेश सभामा पेस गर्ने तयारीमा रहेको छ। परम्परागत कला तथा संस्कृतिको संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पनि प्रदेश सरकारले प्राथमिकता दिएको उहाँले बताउनुभयो।
थारू बाहुल्य जिल्लालाई लक्षित गर्दै समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै उहाँले मुक्त कमैया र कमलहरीको सिप अभिवृद्धि तथा उच्च शिक्षाका लागि सहयोगका कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिनुभयो।
कार्यक्रममा थारू आयोगका कार्यवाहक अध्यक्ष सुवोधसिंह थारूको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रदेश सभा सदस्य इन्द्रजित थारूले थारू समुदायको उत्थान, भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा प्रदेश सरकारले बजेटको आकार अनुसार सम्बोधन गर्ने प्रयास गरेको बताउनुभयो।
उहाँले लुम्बिनी प्रदेशभित्रका कमलहरीका लागि उच्च शिक्षा सहायता छात्रवृत्ति, सिकलसेल रोगको उपचार सहयोगलाई नियमित कार्यक्रमका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।त्यसैगरी, भुयाँर थान निर्माण, वरघर संस्कृतिको संरक्षण तथा थारू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याउनुपर्ने विषयमा पनि जोड दिइएको थियो । थारू सभ्यताको संरक्षण प्रज्ञा प्रतिष्ठानमार्फत अघि बढाउने तयारीसमेत रहेको जनाइएको छ।
कार्यक्रममा पत्रकार सन्तोष दहितले थारू समुदायसँग सम्बन्धित विषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा थारू समुदायका अगुवाहरूको सहभागीता थियो।
कमेन्ट गर्नुहोस्