लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरपालिकाले शुरुगर्यो मणिग्राममा सुलभ फार्मेसी,अब २५.१० प्रतिशत छुटमै औषधी पाइने

IMG

मणिग्राम। तिलोत्तमा नगरपालिकामा सर्वसाधारणलाई सस्तो र सहज रूपमा औषधि उपलब्ध गराउने उद्देश्यसहित “तिलोत्तमा सुलभ फार्मेसी” को उद्घाटन गरिएको छ। मणिग्राम चोकदेखि करिब १०० मिटर उत्तरमा स्थापना गरिएको उक्त फार्मेसीको उद्घाटन नगर प्रमुख रामकृष्ण खाण र उपप्रमुख जगेश्वर देवी चौधरीले संयुक्त रूपमा गरेका हुन्।


उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख खाणले स्थानीय तहबाट नेपालमै पहिलो पटक यस्तो प्रयास गरिएको दाबी गरे। उनले गुणस्तरीय तथा मान्यताप्राप्त औषधि सहज रूपमा उपलब्ध गराउनु नगरपालिकाको प्राथमिकता रहेको उल्लेख गर्दै भौतिक विकाससँगै मानवीय विकासमा पनि ध्यान दिनुपर्ने बताए। फार्मेसीमार्फत औषधिमा २५.१० प्रतिशतसम्म छुट उपलब्ध गराइने जानकारी दिँदै उनले यसबाट आम नागरिकलाई राहत पुग्ने विश्वास व्यक्त गरे। साथै, सेवा प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको उनले बताए।


उपप्रमुख जगेश्वर देवी चौधरीले नगरपालिकाको यो पहलले नागरिकको दैनिक जीवनमा प्रत्यक्ष सहजता ल्याउने बताइन्। उनले सुलभ र भरपर्दो औषधि सेवा विस्तारमा निरन्तरता दिनुपर्नेमा जोड दिइन्।प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले नगरपालिकाको नीति, कार्यक्रम तथा बजेटमै समावेश गरी फार्मेसी सञ्चालनमा ल्याइएको जानकारी दिए। उनले डाक्टरको प्रिस्क्रिप्सनका आधारमा गुणस्तरीय औषधि सस्तो मूल्यमा उपलब्ध गराइने व्यवस्था मिलाइएको बताए।


कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले पनि आ–आफ्नो धारणा राखेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति रुस्तम कंडेलले नगरपालिकाको यो कामलाई उदाहरणीय भन्दै सेवा थप विस्तार गर्नुपर्ने र नियमित अनुगमन आवश्यक रहेको बताए। नेकपा एमालेका नगर अध्यक्ष मिन प्रसाद पोख्रेलले नगरबासीको हितमा गरिएको कार्य भएकाले यसको सफल कार्यान्वयनका लागि सबै पक्षको सहयोग र निगरानी आवश्यक रहेको धारणा राखे। नेपाली कांग्रेसका सभापति हरिलाल पाण्डेले घरघरमै औषधि सेवा सहज बनाउने दिशामा यो पहल महत्वपूर्ण भएको उल्लेख गरे।


त्यस्तै, तिलोत्तमा चेम्बर अफ कमर्सका अध्यक्ष नेत्र प्रसाद न्यौपानेले पनि यस कार्यको स्वागत गर्दै निजी क्षेत्रसँग सहकार्य गरेर सेवा थप प्रभावकारी बनाउन सकिने बताए।उक्त फार्मेसी बुड्स मेडिको कन्सर्नको व्यवस्थापनमा पाँच वर्षका लागि सञ्चालन हुने गरी सम्झौता गरिएको छ। नगरपालिकाको यस पहलबाट सर्वसाधारणलाई सस्तो दरमा औषधि उपलब्ध हुने र स्वास्थ्य सेवामा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।कार्यक्रममा स्वागत मन्तव्य तिलोत्तमा-५ का वडा अध्यक्ष रमेश डुम्रेलेले राखेका थिए भने सञ्चालन स्वास्थ्य शाखाका अधिकृत तथा स्वास्थ्य निरीक्षक राम प्रसाद ढकालले गरेका थिए।सो फार्मेसीको नगरपालिकाले सटर भाडा मात्रै ब्यबस्थापन गर्ने छ भने, औषधि खरिद बिक्री बुड्स मेडिकोले नै गर्ने छ। 

कमेन्ट गर्नुहोस्