लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा बढ्दो घर निर्माणसँगै रोजगारीका अवसर विस्तार

IMG

शारदा शाही, तिलोत्तमा। पछिल्लो समय पहाडी तथा ग्रामीण क्षेत्रबाट सहरतिर बसाइँ सर्ने क्रम उल्लेख्य रूपमा बढ्दै गएको छ। विदेशबाट फर्किएका धेरै मानिसहरूले गाउँ फर्कनुभन्दा सहरमै घर बनाएर बस्ने प्रवृत्ति बढ्दो देखिन्छ। विशेषगरी छोराछोरीको राम्रो शिक्षा, स्वास्थ्य सेवा, रोजगारीका अवसर तथा अन्य सुविधा खोज्दै धेरै परिवारहरू गाउँबाट सहर झर्ने गरेका छन्। यससँगै सहरमा नयाँ–नयाँ घर तथा भवन निर्माणको काम पनि तीव्र गतिमा बढिरहेको छ।


रुपन्देहीको तिलोत्तमा नगरपालिका भित्र पनि पछिल्लो समय निर्माण कार्य उल्लेख्य रूपमा बढिरहेको छ। तिलोत्तमा नगरपालिकाका सब–इन्जिनियर श्रीधर गेवालीका अनुसार २०७४ सालमा नगर क्षेत्रमा २६८६ घर गनिएका थिए। त्यसपछि घर निर्माणको क्रम बढ्दै गएको देखिन्छ। २०७८ सालमा ७५२ जनाले घर सम्पन्नताको प्रमाणपत्र लिएका थिए भने २०८२ सालमा भने यो सङ्ख्या ह्वात्तै बढेको छ। चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा मात्रै ७१७ घरले सम्पन्नताको प्रमाणपत्र लिइसकेका छन् भने ४८३ जनाले घर निर्माणका लागि इजाजत पत्र लिइसकेका छन्।


घर निर्माणको काम बढ्दै जाँदा निर्माण क्षेत्रमा रोजगारीका अवसर पनि विस्तार भइरहेका छन्। घर निर्माणबाट राम्रो आम्दानी हुने भएकाले धेरै मानिसहरू ठेकदार, मिस्त्री तथा लेबरको रूपमा यस क्षेत्रमा संलग्न भएका छन्। स्थानीय कामदारहरू मात्र होइन, आफ्नो जिल्लाबाट अन्य जिल्लामा काम गर्न जाने क्रम पनि बढ्दो छ।यसै क्रममा दाङ जिल्लाबाट रूपन्देही आई तिलोत्तमा नगरपालिकाका विभिन्न स्थानमा घर निर्माणको काम गर्दै आउनुभएकी शान्ति चौधरीले तीनवटा छोराछोरी घरमै छोडेर कामका लागि यहाँ आएको बताउनुभयो। घरको आर्थिक अवस्था कमजोर भएकाले आफूले नौ कक्षामा पढ्दै गर्दा मिस्त्रीको काम सुरु गरेको उहाँको भनाइ छ। परिवारले विदेश जान दबाब दिए पनि निर्माण क्षेत्रमा राम्रो आम्दानी भइरहेकाले आफू यही पेशामा सन्तुष्ट रहेको चौधरी बताउनुहुन्छ।


तिलोत्तमा क्षेत्रमा नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घ र नेपाल भवन निर्माण कर्मी सङ्घमा आबद्ध ठेकदारहरूले दाङ लगायत अन्य जिल्लाबाट कामदारहरू बोलाएर निर्माण कार्य सञ्चालन गर्दै आएका छन्। यद्यपि छिमेकी जिल्लाबाट धेरै कामदारहरू आए पनि स्थानीय कामदारसँग काम गर्न सजिलो लाग्ने नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घका वरिष्ठ सल्लाहकार सुशील घिमिरे बताउनुहुन्छ।निर्माण क्षेत्र विस्तारसँगै रोजगारीका अवसर बढे पनि दक्ष जनशक्ति अभाव, सुरक्षा व्यवस्थापन तथा कामदारको जीवनस्तर सुधारका विषयमा अझ ध्यान दिन आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।

कमेन्ट गर्नुहोस्