लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा ग्यास अभावको गुनासोपछि तीव्र अनुगमन, आत्तिनुपर्ने अवस्था नरहेको उद्योगको दाबी

IMG

तिलोत्तमा। बजारमा खाना पकाउने एलपी ग्याँस अभाव भएको गुनासो आएपछि तिलोत्तमा क्षेत्रमा सम्बन्धित निकायको उपस्थितिमा तिलोत्तमा नगरपालिकाले अनुगमन तीव्र बनाएको छ। उपभोक्ताले केही स्थानमा ग्याँस सहज रूपमा नपाएको, पसलमा लुकाएर राखेको तथा खरिद गर्न जाँदा नपाएको गुनासो गरेपछि तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चौधरी, नगरका कर्मचारी, तिलोत्तमा ब्यापार संघ, उद्योग ब्यापार संगठन तिलोत्तमा, तिलोत्तमा उद्योग बाणिज्य संघका प्रतिनिधि र नगर प्रहरीहरूले डिलर तथा विक्रेता र उद्योगमा गएर निरीक्षण गरेका हुन्।


सो अवसरमा बोल्दै नगर उपप्रमुख चौधरीले कृतिम ग्याँस अभाव गराउने जो कोहीलाई कारबाहीको दायरामा ल्याउने र त्यस्ता गतिबिधि नगर्न आग्रह समेत गरेकी छिन।उपभोक्ताले पनि घरमा चाहिने भन्दा बढी भण्डारण नगर्न आग्रह गर्दै उद्योगमा ग्याँस प्रयाप्त रहेको समेत जानकारी दिएकी छिन।तिलोत्तमामा संचालित ग्याँस उद्योग सिद्धार्थ ग्याँसका ब्यबस्थापक लक्ष्मण पाण्डे अनुसार बजारमा ग्यासको आपूर्ति सामान्य अवस्थामा रहेको र आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताइएको छ। त्यस्तै स्वस्तिक ग्याँस उद्योगका ब्यबस्थापकले ग्याँस पर्याप्त आयात भइरहेको र वितरण प्रक्रियामा देखिएको अस्थायी समस्या वा उपभोक्ताले हाउगुजिमा लागेर घर तथा पसलमा बढी भण्डारण गर्दा अभाव जस्तो देखिएको हुन सक्ने बताएका छन्।


अनुगमन टोलीले विक्रेतालाई उपभोक्तालाई नियमित रूपमा ग्यास उपलब्ध गराउन निर्देशन दिएको छ। साथै कृत्रिम अभाव सिर्जना गर्ने, ग्यास लुकाएर राख्ने वा कालोबजारी गर्ने पाइएमा कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ।उपभोक्तालाई भने आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न र नियमित वितरण प्रक्रियामा सहयोग गर्न आग्रह गरिएको छ।तिलोत्तमाका गुनासो आएका करिव ५ वटा पसलमा अनुगमन गर्दा त्यस्तो गतिबिधि नदेखिएको आर्थिक बिकास शाखा प्रमुख मुक्तिराम खनालले बताएका छन्।सो अनुगमन कार्यमा,राजश्व शाखा प्रमुख इन्द्रदत्त सापकोटा, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, उद्योग ब्यापार संगठन तिलोत्तमाका अध्यक्ष प्रेम जिएम,तिलोत्तमा ब्यापार संघका प्रतिनिधिसंगै नगरप्रहरीहरुको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्