लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

IMG

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । ग्राण्डी अस्पतालले विज्ञप्ति निकालेर उनको आज दिउँसो १२:४५ बजे निधन भएको जानकारी दिएको हो ।अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए ।त्यसपछि उनलाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याई काठमाडौं ग्राण्डी अस्पताल भर्ना गरिएको थियो ।


अस्पतालबाट जारी विज्ञप्तिमा लेखिएको छ, ‘गम्भीर इन्टेन्सिभ केयरका बाबजुद ४८ घण्टापछि न्यूरोलोजिकल अवस्थामा कुनै सुधार देखा परेन र मस्तिष्कको कार्यक्षमता पुन: प्राप्तिको कुनै संकेत थिएन । बिरामीको परिवारलाई उनको अवस्थाबारे विस्तारमा परामर्श दिइयो । चिकित्सकीय प्रोटोकल अनुसार मस्तिष्कको कार्यक्षमता परीक्षण गर्न एप्निया परीक्षण गरियो जुन पोजेटिभ थियो, जसले स्वत: श्वासप्रश्वास नभएको जनाउँछ । र उहाँको १२:४५ बजे निधन भएको जानकारी गराउँछौं ।’अस्पतालका अनुसार उनलाई सब–अरैक्नोइड हेमरेज भएको थियो ।


सब–अरैक्नोइड हेमरेज कति गम्भीर समस्या ?

सब–अरैक्नोइड हेमरेज मस्तिष्कमा हुने रक्तस्रावको अत्यन्तै गम्भीर र ज्यान जोखिममा पार्ने अवस्था मानिन्छ । यो अवस्था तब हुन्छ, जब मस्तिष्कको सतह र त्यसलाई ढाक्ने झिल्ली (अरैक्नोइड मेम्ब्रेन) बीचको स्थानमा अचानक रगत जम्न थाल्छ । चिकित्सकका अनुसार यो ब्रेन हेमरेजको सबैभन्दा खतरनाक प्रकारमध्ये एक हो, जसमा तुरुन्त उपचार नपाए मृत्युदर निकै उच्च हुन्छ ।उपचारमा खटिएका चिकित्सकले जनाएअनुसार सिटौलालाई भएको समस्या पनि यही सब–अरैक्नोइड हेमरेज हो । अस्पताल आइपुग्दा उनको चेतनास्तर अत्यन्तै न्यून थियो र अवस्था नाजुक थियो । अझ चिन्ताजनक कुरा के भने, अस्पताल ल्याइनुअघि करिब ४५ मिनेटसम्म मुटुको चाल बन्द भएको थियो ।


त्यसपछि सीपीआरमार्फत मुटुको चाल फर्काइए पनि, यति लामो समयसम्म मुटुको चाल बन्द हुँदा मस्तिष्कमा अक्सिजन नपुग्ने भएकाले उपचारको नतिजा जटिल हुन सक्ने चिकित्सकले बताएका छन् । यस्तो अवस्थामा छिट्टै सुधार आउने सम्भावना सामान्यतया न्यून हुन्छ ।सब–अरैक्नोइड हेमरेजको प्रमुख कारणमध्ये एक हो ।  मस्तिष्कको नसामा भएको एन्युरिज्म फुट्नु । एन्युरिज्म भनेको नसा अस्वाभाविक रूपमा फुल्नु हो । धेरैजसो मानिसमा यस्तो एन्युरिज्म पहिलेदेखि नै हुन सक्छ, तर कुनै लक्षण नदेखिने भएकाले समयमै पत्ता लगाउन कठिन हुन्छ । अचानक रक्तचाप अत्यधिक बढ्नु, अत्यधिक तनाव, धूम्रपान, मदिरा सेवन वा केही अवस्थामा शारीरिक श्रमका कारण पनि एन्युरिज्म फुट्न सक्छ ।


यस रोगका लक्षण प्रायः अचानक र तीव्र रूपमा देखिन्छन् । जसमध्ये अत्यन्तै चर्को टाउको दुखाइ, वाकवाकी वा बान्ता,आँखा झिम्क्याउन गाह्रो हुनु, बेहोस हुनु वा झट्का लाग्नु प्रमुख हुन् । कतिपय अवस्थामा बिरामी एकाएक ढलेर बेहोस समेत हुन सक्छन् । यही कारणले यसलाई ‘थन्डरक्ल्याप हेडेक’ अर्थात् चट्याङ झैँ अचानक आउने टाउको दुखाइ पनि भनिन्छ ।चिकित्सकका अनुसार यो रोग प्रायः ६० वर्षभन्दा माथिका व्यक्तिमा बढी देखिन्छ, तर पछिल्लो समय केही अवस्थामा कम उमेरका व्यक्तिमा पनि देखिन थालेको छ ।उपचारका लागि बिरामीलाई तुरुन्तै सघन उपचार कक्षमा राखेर सीटी स्क्यान वा एमआरआईमार्फत रक्तस्रावको अवस्था पत्ता लगाइन्छ । एन्युरिज्म भएको पुष्टि भएमा शल्यक्रिया (क्लिपिङ) वा कोइलिङ जस्ता जटिल प्रक्रिया अपनाइन्छ । तर, प्रारम्भिक अवस्था अत्यन्तै गम्भीर भएकाले सबै केसमा अपेक्षित सुधार आउँछ नै भन्ने हुँदैन ।


कमेन्ट गर्नुहोस्