
बुटवल। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले शब्द रचना रहेको गीत ‘आमा म त खरानीबाट उठेर आएँ’ सार्वजनिक भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रवार आयोजित एक कार्यक्रमबिच उक्त गीतको पहिलो पटक सार्वजनिक गरिएको हो।नेपाल प्रहरीले निर्वाह गरिरहेको कर्तव्य र जिम्मेवारी, सङ्घर्ष, सेवा भावलाई सजीव रूपमा चित्रण गर्दै प्रहरी कर्मचारीहरूले दिनानुदिन भोग्दै आएको सङ्घर्ष, जोखिमपूर्ण जिम्मेवारी र नागरिकको सुरक्षाको लागि गरिएको निश्वार्थ सेवालाई यथार्थ चित्रण सहितको भाव प्रस्तुत गरिएको छ।
गीतकार महानिरीक्षक कार्की उपत्यका प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारीमा रहँदा नवयुवा पुस्ताले गरेको आन्दोलनको क्रममा उनले प्रत्यक्ष अवलोकन र अनुभूत गरेका विषयहरूलाई गीतको माध्यमबाट उत्कृष्ट छायाङ्कनका साथ दर्शकहरूको मन छुने गरी मार्मिक तरीकाले प्रस्तुत गरिएको छ ।नवयुवा पुस्ताको आन्दोलनपश्चात् खरानीबाट उठेर नागरिक सेवा र सुरक्षामा होमिएका कर्तव्यनिष्ठ प्रहरीहरूको मनोभाव, अनुशासन, देश प्रतिको जिम्मेवारी र आम नागरिक प्रतिको कर्तव्य वोधलाई यस गीतले भावनात्मक पस्किएको छ।
गायक थानेश्वर गौतम, शान्ति श्री परियार, समिर खरेल, सदिच्छा कट्टेल र सहिमा श्रेष्ठको स्वर रहेको उक्त गीतको भिडियोमा सुरक्षा पन्त, सुर्यमाला खनाल, तारा केसी, राजन न्यौपाने, सुदिप पट्टेल, कृतिका बस्नेत लगायतका कलाकारहरूले अभिनय गरेका छन्।यस गीतमा दीपक शर्माले सङ्गीत भरेका छन् भने उदय राज पौडेलको एरेन्ज, श्याम श्वेत रसाइलीको मिक्सिङ र मास्टरिङ्ग रहेको छ।मानव सुवेदीको कथा एवं निर्देशन रहेको गीतको भिडियोमा सौरभ लामिछानेको छायाङ्कन तथा सरोज ओलीको भिडियो कन्सेप्ट रहेको छ।
कमेन्ट गर्नुहोस्