
काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहबीच ७ बुँदे सहमति भएलगत्तै उनीहरुका आधाआधी समर्थक उत्साहित भएका छन् भने केहिले सबै नयाँ शक्ति मिलेर जानु पर्ने र पदकै लागि सहमति नगर्नु पर्ने भन्दै कटाक्ष गरेका छन।नयाँ र वैकल्पिक शक्तिहरुबीचको एकताले मात्रै परिवर्तनलाई संस्थागत गर्न सकिने भन्दै धेरैले सबै नयाँ शक्ति मिलेर जानुपर्ने सुझाव दिएका छन्। सहमतिमा हस्ताक्षर गरेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै रास्वपा सभापति रवि लामिछानेले सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्ने बताउनुभएको छ ।
लामो छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाण्डौ महानगरपालिका मेयर बालेन शाहबीच ७ बुँदे सहमति भएको हो ।मध्यराति भएको सहमतिअनुसार पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र चुनाव चिन्ह घण्टी हुनेछ । पार्टीको सभापति रवि लामिछाने हुने र प्रतिनिधिसभाको चुनावपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह बन्ने सहमति भएको छ ।यसअघि उज्यालो नेपाल पार्टीलाई पनि समेटेर एकताको प्रयास भएको थियो ।
तर पार्टीका संरक्षक कुलमान घिसिङले अस्तित्वको प्रश्न उठाउँदै असहमति जनाउनुभएको थियो । पार्टीको नाम रास्वपा नै हुने, उसैको चुनाव चिन्ह रहने, सभापति रवि र प्रधानमन्त्री बालेन हुने, कुलमान र उज्यालो पार्टीको अस्तित्व नै नरहने भन्दै उहाँ छलफलमा सहभागी हुनु भएको थियो ।कुलमानले असहमति जनाएपछि रास्वपाका सभापति रवि लामिछाने र बालेन शाहबीच गएराति अबेरसम्म भएको छलफलपछि सातबुँदे सहमतिमा हस्ताक्षर भएको हो ।
कमेन्ट गर्नुहोस्