
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म राजीनामा दिने विषयमा निर्णय गर्ने बताएका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका उनले मन्त्री पदबाट राजीनामा दिएर चुनावमा जाने संकेत गरेका हुन् ।‘मन्त्रीको हैसियतमा आएपछि राजनीतिमा इन्ट्री भएँ,’ उनले भने, ‘मन्त्रीको हैसियतले हाम्रो जिम्मेवारीलाई बहन गर्दै अघि बढेको पनि छु । जुनबेला चुनावमा जानेछौँ, उम्मेदवारीको विषयको समय आउँछ । त्यसबेला उपयुक्त समयमा आवश्यक निर्णय गर्छौँ ।’
वर्तमान सुशीला कार्की नेतृत्वको सरकार गैरदलीय भएको तर, कुलमान दलको व्यक्ति भएको भन्दै विभिन्न टिकाटिप्पणी भइरहेको छ ।त्यस्तै उनले नयाँ दलहरू आपसमा मिलेर चुनावमा जानुपर्ने बताएका छन् । ‘चुनाव यो सरकारको मुख्य कार्यभार हो । चुनावमा जाने भनेपछि सबै नयाँ शक्तिहरू मिल्नुपर्छ भन्नेमा हामी एक छौँ ,’ उनले भने ।उनले अन्य नयाँ दलहरूप्रति लक्षित गर्दै आफैँ मात्र ठिक भनेरमात्रै नहुने पनि बताए।‘चुनावपछिको नेतृत्व सही आउनका लागि सबैले आ आफ्नो क्षेत्रबाट जुनसुकै परिस्थितिमा पनि योगदान पुर्याउनुपर्छ,’ उनले थप भने, ‘जस्तोसुकै किसिमको योगदान पुर्याउन पछि हट्नुहुँदैन । आफैं ठिक भनेरमात्रै पनि हुँदैन । सबै एक भएर जानुपर्छ । को–को कसरी हो नयाँ शक्तिहरु सबै मिल्नुपर्छ ।’
कमेन्ट गर्नुहोस्