
ड्राइभरटोल। जेएनजीको आन्दोलनको क्रममा लुटपाट र आगजनी रिसिवी साध्न तथा अराजक गतिबिधी गर्दै घुसपैठ गरेको प्रति नेपाल सरकारका माननीय सांसद बासुदेव घिमिरेले दु:ख ब्यक्त गरेका छन। आफुले युवा अवस्थामा सघर्ष गरेर कमाएको सम्पत्तिको आगलागी गर्ने गतिबिधिले आफुलाई सार्है दुखि बनाएको घिमिरेको भनाई छ। उनले सामाजिक संजालमा यस्तो लेखेका छन।
प्रिय जेनजी बाबुनानीहरु, २०८२ भदौ २५ गते तिलोत्तमा नगरपालिका वडा नं. ४ मा रहेको मेरो निजी निवास र ड्राइभरटोलमा रहेको मेरो व्यवसायिक प्रतिष्ठान (होटल टुलिप प्रा.लि.) मा आगजनी तथा तोडफोड भएपछि आज म केही कुरा राख्न गईरहेको छु । प्रिय जेनजी बाबुनानीहरु, भाद्र २३ गते जेनजीको आन्दोलनमा मृत्यु हुने कलिला बाबुनानीहरु प्रति पुन:हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै, भ्रष्टाचार नियन्त्रण, सुसासन सहितका तपाईहरुको उचित माग सम्बोधन गर्न राज्य/सरकार संग माग गरेको र सामाजिक सञ्जाल नियन्त्रण गर्ने सरकारको निर्णय फिर्ता लिन सामाजिक सञ्जाल मार्फत आव्हान गरेको कुरा यहाँहरुलाई जानकारी गराउदछु । म तपाईंहरुकैं उमेरको समयमा वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पुगेर श्रम पसिना गरेर कमाएको पैसाबाट हाल बस्दै आएको घर निर्माण गरेको हूँ । परिवारसँग बिछोड भएर दक्षिण कोरियामा आफ्नो श्रम पसिना खर्चिनु मेरो बाध्यता थियो । यसैले अहिले पनि म समय हुनासाथ श्रमसँग जोडिन्छु । श्रम संस्कृतिको विकास हुनुपर्छ भन्ने मान्यता राख्छु । प्रिय जेनजी बाबुनानीहरु, संविधानले नैं दिएको व्यक्तिगत स्वतन्त्रता र बहुदलीय व्यवस्था अनुसार म पनि कुनै पार्टीमा जोडिएँको छु । राजनीतिलाई ‘पेशा’ गराइनु हुँदैन भनेर बैंक तथा व्यक्तिगत ऋणधन गरेर ड्राइभरटोलमा होटल व्यवसाय सुरु गरेँको हूँ । अझै पनि विभिन्न बैंक तथा वित्तीय संस्थाको ऋणको भारी बोकेरैं हिँडेको छु । उत्पादन र रोजगारी संग जोडीनु पर्छ भनेर , व्यवसाय गर्न पाउने संवैधानिक हकअनुसार ३०/३५ जनालाई रोजगारी दिएर होटल व्यवसाय शुरु गरेको हु । आज म बस्ने घर र व्यवसायिक प्रतिष्ठान तोडफोड र आगजनीवाट ध्वस्त भएको छ । प्रिय जेनजी बाबुनानीहरु , तपाईंहरुलाई थाहा नैं छ, म तिलोत्तमा नगरपालिकाको पहिलो निर्वाचित नगर प्रमुख हुँ । तपाईं र तपाईंका आमाबुबाहरुकैं भोटले मैले २०७४ को स्थानीय तहको निर्वाचन जितेँ । शासकीय व्यवस्थामा आएको परिवर्तनको अनुभूति नगरबासीले गर्न पाउनुपर्छ भनेर म दिनरात नभनी तिलोत्तमाबासीको सर्वोपरि हितमा लागेर काम गरेँ । तिलोत्तमा नगरपालिकालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय फोरममा परिचित गराएँ । सार्वजनिक शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सरसफाईको क्षेत्रमा तपाईंहरु समेत नगरबासीको सहयोगमा काम गरेर तिलोत्तमा नगरपालिकालाई मुलुकमैं उत्कृष्ट बनाएँ । नगरमा सबैको सहयोग र समन्वयमा एउटा थिति बसालेँ । हालका काठमाडौं महानगरका मेयर बालेन साह समेत तिलोत्तमा नगरपालिकामा आएर नगरको कामको तौरतरिकाको बारेमा जानकारी लिएको विषयलाई तपाईंहरुले सामाजिक सञ्जालबाट त्यतीबेला नैं थाहा पाउनु भएको हुनुपर्छ । प्रिय जेनजी बाबुनानी हरु, तिलोत्तमा नगरपालिकाको ब्राण्डको आलोकमा मैले रुपन्देही क्षेत्र नं. ५ बाट २०७९ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेँ । प्रतिनिधिसभा सदस्यको रुपमा जुन भूमिका निर्वाह गर्नुपर्ने हो, त्यसमा म सधैं प्रतिबद्ध रहँदै आएको छु । भ्रष्टाचार विरुद्ध, सुशासन, समानुपातिक विकास, युवा र लगानीमैत्री वातावरण तथा निति निर्माणको लागि मैले संसदमा निरन्तर आवाज उठाउँदै आएको छु, यस सम्बन्धी भिडियो/अडियो रेकर्ड सामाजिक सञ्जालमैं पनि हेर्न र सुन्न सकिन्छ । जनजीविका, राष्ट्र, राष्ट्रियता, जनताले पाएका दुःख, कष्टको विषयमा निरन्तर संसदमा आवाज उठाउने मध्येको सांसदमा मेरो नाम पनि आउँछ । सांसद कार्यकारी भूमिकामा नहुने भएकोले चाहेअनुसारको काम गर्न नसक्नु अर्को पाटो होला, तर नीतिगत सुधारका लागि आवाज वुलुन्द गर्न म कहिल्लै पछि परेको छैन । रुपन्देही क्षेत्र नं. ५ को विकासका लागि मेरैं र अन्य पार्टीका धेरै जना मन्त्रीज्यूहरुसँग मेरो नोकझोक समेत परेको छ । प्रिय जेनजी बाबुनानी हरु, मैले श्रम र पसिनाले आर्जन गरेको मेरो वस्ने घर र व्यवसायिक प्रतिष्ठान प्रति तोडफोड र आगजनी जेनजीवाट भएको भन्नेमा म अहिले पनि विश्वस्त छैन । यो तपाईहरुको आन्दोलनमा घुसपैठ भएको हो भन्ने नै मेरो वुझाई हो । नयाँ सरकार बन्दै छ । मैले कुनै गलत तरिकाले धन सम्पत्ति जोडेको भए छानबिन होस्, त्यसको छानबिनमा सहयोग गर्न म सधैं तयार छु । मेरो घर र व्यवसायिक प्रतिष्ठान आगजनी र तोडफोड गर्नेहरु माथि कारवाही होस् । यसमा तपाईंहरुको साथ रहोस् । मलाई लाग्छ, तपाईंहरुले उठाएका धेरै माग मैले निरन्तर उठाईरहेको छु । भ्रष्टाचार नियन्त्रण, विकास, सुसासन, उत्पादन र रोजगारीका विषय मेरा पनि मुद्दा हुन् । यी मुद्दा तपाईहरुका पनि हुन् । अन्त्यमा, लोकतन्त्र / गणतन्त्र दुनियाँको उन्नत व्यवस्था हो । यहीँ व्यवस्थावाटै तपाईंहरुले राजनीतिक स्थायित्व र सुशासनका पक्षमा उठाएका मुद्दा स्थापित होऊनू । शुभकामना !!! उही तपाईहरुको, बासुदेव घिमिरे, तिलोत्तमा । मिति : २०८२।०५।२६ गते ।
कमेन्ट गर्नुहोस्