लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लड्केश्वर धाम : संकट नाश गर्ने राष्ट्रको आध्यात्मिक धरोहर

IMG

पनौती, काभ्रे –

विश्वकै एकमात्र कालाग्नि रुद्रपीठ लड्केश्वर धाममा आस्थाको अर्को ऐतिहासिक क्षण लेखिएको छ । ७७ जिल्लाको रथयात्रा र राष्ट्रिय कोटिहोम सम्पन्न भइसकेपछि, आज पुनः राष्ट्रगौरवको प्रतीक स्वरूप धामको विशेष निशानी अनावरण गरियो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री मा. बद्री पाण्डे र सन्तसमाजका तर्फबाट श्री १००८ स्वामी रमणानन्द जी महाराजको संयुक्त करकमलबाट सम्पन्न यो समारोह श्रद्धा, भक्ति र गौरवको संगम बनेको थियो ।


कार्यक्रममा विद्वान प्रा.डा. भवानी खतिवडा, भारत नागेश्वर ज्योतिर्लिंगका अर्चक दर्शन नागनाथ, राष्ट्रिय पञ्चाङ्ग समितिका सदस्य ज्यो. लक्ष्मण पंथी, राजनीतिक तथा समाजसेवी मधु आचार्य, पनौती नगरपालिकाका मेयर रामसरण भण्डारी, वेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, पनौती–११ का वडा अध्यक्ष बिपिन लामा, प्रवक्ता मधुसुधनजी, पीठाचार्य अरुण कुमार पाण्डे, ज्योतिष परिषद्का वरिष्ठ उपाध्यक्ष लेखनाथ न्यौपाने, कोटिहोमका गुरुहरू तथा दानदाता–भक्तजनको उल्लेखनीय उपस्थिति थियो ।


समारोहमा श्री १००८ स्वामी रमणानन्द महाराजले आशिर्वचन दिँदै भन्नुभयो –“कालाग्नि रुद्रपीठ लड्केश्वर धाम भगवान पशुपतिनाथको पाशुपतास्त्रस्थल हो, जहाँ राष्ट्रका सबै संकटहरू नाश हुने संकेत प्रकट भएको छ। अब हामी सबैले शिव भगवानसँग क्षमा मागी राष्ट्र समृद्धिको मार्गमा लाग्नुपर्छ ।”यसै अवसरमा मन्त्री पाण्डेले लड्केश्वर धामलाई राष्ट्रीय धार्मिक पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनले अब शिवको पाशुपतास्त्र (त्रिशूल) दर्शन गर्न पाउने सहज वातावरण निर्माण गर्ने घोषणा गर्नुभयो । साथै, विश्वकै अग्लो शिव त्रिशूल निर्माणमा पुर्याइएको अद्वितीय योगदानका लागि पीठाधीश मुकुन्द शर्मा हुमागाईंलाई विशेष धन्यवादसमेत दिनुभयो ।


पीठाधीश मुकुन्द शर्मा हुमागाईंको संकल्पअनुसार अब “राष्ट्र र राष्ट्रियता प्रति श्रद्धा एवं संकल्प यात्रा” सुरु हुनेछ । यस अन्तर्गत ७७ वटै जिल्लामा शास्त्रीय विधिपूर्वक लड्केश्वर धामको निशानी लैजाने र दर्शन गर्न नपाएका भक्तजनलाई प्रत्यक्ष दर्शनको जस्तै पुण्यफल प्राप्त हुनेछ ।६.५ केजी शुद्ध चाँदीबाट निर्मित यस निशानीको सुरक्षा व्यवस्थापनका लागि गृह मन्त्रालयमार्फत ७७ जिल्लाकै प्रशासन कार्यालयहरूलाई पत्राचार भइसकेको जानकारी दिइएको छ । साथै, यात्राको गरिमा र भव्यतालाई अभिव्यक्त गर्ने विशेष रथको तयारी पनि पूरा गरिएको छ ।यो निशानी मात्र चाँदीको संरचना होइन, यो राष्ट्र आस्था र एकताको प्रतिमूर्ति हो - जसले नेपालको सांस्कृतिक, धार्मिक र आध्यात्मिक पहिचानलाई विश्व मञ्चमा उजागर गर्नेछ।

कमेन्ट गर्नुहोस्