
शारदा शाही,तिलोत्तमा। ठूला ठूला घरहरू बने अनि बाटोहरू पनि उस्तै राम्रा तर न बुढापाकालाई साथी संगीसँग गफ गर्दै समय बिताउने ठाउँ बन्यो न त बालबालिकालाई खेल्नको लागि ठाउँ यही अभावलाई पूरा गर्नको सम्झना परिवार युवा क्लबले २०७० सालतिर देउसीभैलोबाट जम्मा गरिएको पाँच लाख रुपैयाँले सम्झना बाल उद्यान तथा जेष्ठ नागरिक मिलन केन्द्रको योजना तयार गरेको थियो ।
तिलोत्तमा नगरपालिका–९ मा निर्माणाधीन सम्झना बाल उद्यान तथा जेष्ठ नागरिक मिलन केन्द्रको निर्माण कार्य क्रमशः अघि बढिरहेको छ। करिब एक दशकअघि देउसी भैलो खेलेर जम्मा गरिएको पाँच लाख रूपैयाँ लिएर सम्झना परिवार क्लबले यो योजना अगाडि बढाएको क्लबका नि वर्तमान अध्यक्ष तथा निर्माण समितिका अध्यक्ष खेमेन्द्र रानाले बताए।
योजना बने पनि आवश्यक बजेट तथा सरकारी प्राथमिकतामा पर्न नसकेकाले केही वर्ष योजना अलपत्र परेको थियो। हाल भने यो परियोजना तिलोत्तमा नगरपालिकाको गुरु योजनामा समावेश भएपछि निर्माण प्रक्रिया तीव्र बनेको छ।केन्द्र निर्माण भइरहेको जग्गामा पहिले पोखरी थियो बाह्रै महिना पानी हुने भएकोले त्यहाँ माछापालन पनि गरिन्थ्यो। पोखरीको पानी लघु सिँचाइ गरी भलवारीको खेतहरूसम्म समेत सिँचाइ गरिन्थ्यो।पछि बोर्डिङको सङ्ख्या बढ्दै गएपछि त्यहाँको पानी सुक्न गयो तर सरकारी जग्गा भएकोले व्यक्ति तथा संघसंस्थाहरुले अतिक्रमणको पनि निकै प्रयास गरेका थिए यो जग्गामा केन्द्र निर्माण गरेर यहाँसम्म पुर्याउँदा आफूहरुले निकै सङ्घर्ष गर्नुपरेको अध्यक्ष रानाले बताए ।
यो केन्द्रको प्रारम्भिक योजना २०७० सालमा तयार गरिएको थियो। तर, २०७७ सालमा तिलोत्तमा नगरपालिकाको गुरु योजना अन्तर्गत समावेश भएपछि मात्र कार्यान्वयनमा आएको हो। त्यसपछि नगरपालिकाले विभिन्न आ.व.हरूमा क्रमशः बजेट विनियोजन गर्दै आएको छ।आ.व. २०७७/७८ मा रु. २० लाख, आ.व. २०७८/७९ मा रु. १० लाख र आ.व. २०७९/८० मा रु. १० लाख यसरी हालसम्म झण्डै ४० लाख रुपैयाँ बराबरको लगानी भइसकेको छ। परियोजनाको नेतृत्व स्थानीय सम्झना परिवार युवा क्लबले लिएको छ। क्लबको सक्रियता, योजना प्रतिबद्धता र स्थानीयको सहयोगमा २०८२/८३ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको अध्यक्ष रानाले बताए।
सम्झना बाल उद्यान तथा जेष्ठ नागरिक मिलन केन्द्रले एकातर्फ जेष्ठ नागरिकका लागि विश्राम र भेटघाटको शान्तिपूर्ण स्थानको रूपमा सेवा पुर्याउनेछ साथै बालबालिकाहरूले खेल्ने ठाउँ पनि पाउनेछन् भने अर्कोतर्फ स्थानीय पर्यटकीय सम्भावनालाई पनि प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। साथै, महिलामैत्री सहर अवधारणाको अन्तर्गत पनि यो परियोजना महत्त्वपूर्ण रुपमा जोडिएको छ।हाल तिलोत्तमा नगरपालिकाले महिला मैत्री सहर निर्माणमा जोड दिँदै विभिन्न समावेशी र पहुँचयुक्त पूर्वाधार निर्माणको रणनीति अघि सारेको छ। यही सन्दर्भमा सम्झना बाल उद्यान तथा मिलन केन्द्रलाई पनि महत्वपूर्ण परियोजनाको रूपमा अघि बढाइएको छ।
परियोजनाको प्रारम्भिक डिजाइन सम्झना परिवार युवा क्लबले तयार गरेको हो। यद्यपि, नगरपालिकाको परियोजना इकाइ तथा सहरी योजनाकारहरूको सुझावअनुसार आवश्यकता अनुसार डिजाइनमा केही परिमार्जन गर्दै निर्माण गरिने सहरी योजनाकार मनिषा कार्कीले बताइन्। कार्कीका अनुसार, नयाँ समावेशी डिजाइनका लागि क्लब, स्थानीय बासिन्दा र परियोजनासँग समन्वय गरेर छलफल गरिनेछ। त्यसपछि मात्र काम अगाडि बढाइनेछ।यसैबीच, तिलोत्तमा नगरपालिका पूर्वाधार विकास शाखाका वरिष्ठ इन्जिनियर प्रदीप बनका अनुसार, केन्द्रको निर्माण कार्यलाई गुणस्तरीय, दिगो र समयमै सम्पन्न गर्न सबै सरोकारवाला निकायबीच समन्वय भइरहेको छ। उद्दानभित्र अत्याधुनिक शौचालय पनि रहेको तर अहिलेसम्म प्रयोगमा आउन नसकेको पनि उनले बताए।
स्थानीय बासिन्दाहरूले पनि यस्तो उद्देश्यपूर्ण केन्द्र निर्माणप्रति आशा व्यक्त गरेका छन्। उनीहरूको अपेक्षा अनुसार केन्द्र सञ्चालनमा आएपछि जेष्ठ नागरिकहरूको हकहित प्रवर्द्धन मात्र नभई स्थानीय सामाजिक सद्भाव र सामुदायिक सहभागितामा आधारित विकासको नमूना बन्नेछ।
कमेन्ट गर्नुहोस्