
शारदा शाही, मंगलापुर । १९ औँ छुवाछुत उन्मूलन दिवसको अवसरमा तिलोतमा नगरपालिकाको आयोजना र जागरण एफएम ९३. ६ मेगाहर्जको समन्वयमा जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस अन्तरसंवाद कार्यक्रम सम्पन्न सम्पन्न भएको छ।तिलोत्तमा बुधबार गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख रामकृष्ण खाँणले ‘तिलोत्तमाभित्र कसैले पनि जातको आधारमा छुवाछुत गरेको पाइए कानुन अनुसार कारबाही गरिने बताउनुभयो। नगरप्रमुख खाँणले जातीय भेदभाव वा छुवाछुत भएको अवस्थामा नगरपालिकालाई जानकारी गराउन समेत आग्रह गर्नुभएको थियो।
तिलोत्तमा नगरपालिकाले नगरभित्र कुनै पनि प्रकारको भेदभाव नहोस् भन्ने उद्देश्यका साथ काम गरिरहेको बताउँदै भेदभाव र छुवाछुत अन्त्यका लागि तिलोत्तमा नगरपालिकाले दलित ज्ञान उत्सव को आयोजना गरी दलित र गैर दलित समुदायका राष्ट्रिय स्तरका नेताहरूलाई सहभागी गराएर राष्ट्रिय स्तरमा बहस गरेको पनि नगरप्रमुख खाँणले भन्नुभयो। नगरप्रमुख खाँणले नगरपालिकाले पेसालाई मर्यादित, आधुनिकीकरण गर्न समेत नगरपालिकाले लगानी गरिरहेको जानकारी दिनुभयो।
यस्तै कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरीदेवी चौधरीले जातीय भेदभाव विरुद्ध समुदाय स्तरमै सचेतना जगाउनुपर्नेमा जोड दिनुभयो । चौधरीले कानुनी रूपमा छुवाछुत अन्त्य भएको भए पनि व्यवहारमा अन्त्य गर्न लाग्नुपर्ने बताउनुभयो । उपप्रमुख चौधरीले दलित समुदायको परम्परागत सिपलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो । अन्तर संवाद कार्यक्रममा तिलोत्तमा क्षेत्रका राजनीतिक पार्टीहरूका तर्फबाट नेकपा एमाले नगर अध्यक्ष मिनप्रसाद पोख्रेल,नेपाली काँग्रेस नगर सभापति हरिलाल पाण्डेय, नेकपा एकीकृत समाजवादी नगरअध्यक्ष रामचन्द्र भट्टराई र जनमुक्ति पार्टीका नगरउपाध्यक्ष प्रेम कनौजे लगाएतले जातीय छुवाछुत पूर्ण अन्त्यका लागि प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवम् कार्यपालिका सदस्य रवि सेन्चुरीले पहिलो चरणमा आफूहरू अध्ययन अनुसन्धानमा लागेको बताउँदै नीतिगत र कार्यक्रमका हिसाबले दलित समुदायको क्षेत्रमा काम भइरहेको जानकारी दिनुभयो । सेन्चुरीले
तिलोत्तमा दलित ज्ञान उत्सवदेखि दलित समुदायको रणनीतिक विकास योजना र पार्श्वचित्र प्रकाशन गरिएको प्रस्तुति राखे । यस्तै अन्तर संवादमा पत्रकार विनोद परियारले कार्यपत्र प्रस्तुत गर्दै सहरी क्षेत्रमा नयाँ रूपमा जातीय भेदभाव र छुवाछुत हुने गरेको बताउनुभयो ।
त्यसैगरी दलित संयुक्त सङ्घर्ष समिति रुपन्देहीका संयोजक हरिओम विश्वकर्माले संविधानमा दलित अधिकार लेखिए पनि छुवाछुत अन्त्य हुन नसकेको बताउँदै धर्म नै प्रमुख कारण रहेको बताउनुभयो ।कार्यक्रममा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य एवम् सुशासन समितिका संयोजक राधा शाही, अर्का कार्यपालिका सदस्य लक्ष्मी घले लगायतले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाईए पनि व्यवहारमा विभेदबाट दलित समुदाय मुक्त हुन नसकेको बताउनुभयो ।२०६३ साल जेठ २१ गते दिन छुवाछुतमुक्त राष्ट्र घोषणा भएको थियो । सोही दिनलाई २०६८ सालदेखि जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रूपमा मनाइन थालिएको हो ।
कमेन्ट गर्नुहोस्