
तिलोत्तमा।राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य दीपक बोहराको सोमबार निधन भएसँगै बुटवल उपमहानगरपालिका–७, दीपनगरका बासिन्दा स्तब्ध भएका छन् । बोहराको निधनको खबरले मंगलबार सो बस्तीमा सन्नाटा छाएको हो ।दीपक बोहराले २०३७ सालमा बसाएको बस्ती हो दीपनगर । त्यसैले बस्तीको नाम पनि उनकै नामसँग मिलाएर राखिएको हो ।पूर्व–पश्चिम राजमार्ग निर्माण गर्ने क्रममा मजदुर बसेको बेस क्याम्प र शिवनगर नजिकैको खाली ठाउँमा २०३७ सालमा दीपक बोहराले नयाँ बस्ती बसालेको स्थानीयवासी एवं नेपाली कांग्रेसका नेता युवराज गिरीले बताए ।
गिरीले भने, ‘दीपक बोहराले नयाँ बस्ती बसालेर बनेको हो दीपनगर । त्योभन्दा अगाडि यो ठाउँ खाली थियो । बोहराले बस्ती बसाए, अन्य भौतिक पूर्वाधारको विकास गरे, अनि बस्तीको नाम दीपनगर रह्यो ।’अहिले उक्त वडामा २ हजारभन्दा धेरै घर छन् ।दीपक बोहराले बुटवलमा मात्रै भएर तिलोत्तमा नगरपालिका वडा नम्बर १०, कान्छी बजारमा पनि बस्ती बसालेका थिए ।दरबार र जनताको रोजाइमा परिरहने बोहराकै व्यक्तिगत पहलमा तिलोत्तमा शङ्करनगर खानेपानी आयोजना, धकधई खानेपानी आयोजना मार्फत जिल्लामा खानेपानीको अभाव पूर्ति गर्न पहल भएको स्थानीय बताउँछन् ।दीपक बोहराकै पहलमा रमवापुर–लुम्बिनी सडकको ट्र्याक, बनगाई–मर्चवार सडक विस्तारमा पहल, विभिन्न क्षेत्रमा शिक्षालय स्थापना भएको रुपन्देही, तिलोत्तमा नगरपालिका–८ निवासी ८१ वर्षीय रुक्मांगत पाण्डेयले रातोपाटीलाई बताए ।
दीपक बोहरासँग लामो समय काम गरेका पाण्डेयले रुपन्देही जिल्लाको मर्चवारदेखि सालझन्डी, लुम्बिनीदेखि धकधई हुँदै देवदह चरङ्गेसम्म, सेमलारदेखि चिल्हीया हुँदै भैरहवा, बेलहियासम्म विद्युत्, सिचाइँका लागि बोहराको ठुलो योगदान रहेको बताए ।प्रतिमान चन्द बोहरा र नीमा बोहराका माइलो छोराको रूपमा पाल्पामा २००७ साल चैत १८ गते जन्मिएका दीपक बोहरा रुपन्देहीकै विकासको सूत्रधार थिए । नेपाली राजनीतिमा लामो समयदेखि क्रियाशील उनले रुपन्देहीमा भैलुभुज आयोजना ल्याएर समग्र रुपन्देहीका उराठलाग्दा खेतलाई सिञ्चित गराए । गाउँगाउँमा बाटोघाटो र विद्युतीकरणमा समेत उनको योगदान रहेको भैरहवाका राजेन्द्र गुप्ताले बताए ।बोहराका दुई पत्नी मञ्जु र उन्नति शीला बोहराका साथै दुई छोरा गौरव र प्रज्वल छन् । जेठो छोरा गौरव बुद्ध एयरका सिनियर पाइलट हुन् भने कान्छो छोरा प्रज्वल आईटी इन्जिनियर हुन् ।
तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य दीपक बोहरा २०३८ सालमा पर्यटन सहायकमन्त्रीको रूपमा सरकारमा सहभागी भएका थिए । ३१ वर्षको उमेरमै मन्त्री बन्न सफल उनी २०४० सालमा पर्यटन राज्यमन्त्री बने । २०४२ सालको निर्वाचनमा रुपन्देही जिल्लाबाट राष्ट्रिय पञ्चायत सदस्यमा पुनः निर्वाचित भएका बोहरा २०४३ सालमा निर्माण तथा यातायात राज्यमन्त्री बने भने २०४४ सालमा सोही मन्त्रालयकै मन्त्री हुन सफल भएका थिए । उनी २०६७ मा वन तथा भूसंरक्षणमन्त्री भए । यस्तै २०७४ सालमा उनी स्वास्थ्यमन्त्री भएका थिए ।राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयका अनुसार बोहरा पञ्चायत र गणतन्त्र दुवै व्यवस्थामा मन्त्री बनेर रुपन्देहीको विकासमा अग्रसर रहे । २०७९ को आम निर्वाचनमा बोहरा तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
डेढ महिना अघि छोरीको निधन
दीपक बोहराकी छोरी चाँदनी जेनी बोहरा ग्यारेटको ४६ वर्षको उमेरमा गत फागुन २ गते निधन भएको थियो । अमेरिकी नागरिकसँग बिहे गरेकी चाँदनीका दुई छोरी र एक छोरा छन् ।दीपक बोहराकी भतिजी स्वाति थापा बोहराले परिवारमा एकपछि अर्को बज्रपात भएको बताइन् ।बोहराको पार्थिव शरीरको बुधबार काठमाडौँस्थित पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।
सांसद बोहराको पार्थिव शरीर हेलिकोप्टरबाट भैरहवा हुँदै काठमाडौँ लगियो
राप्रपाका बरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य दिपक बोहराको पार्थिव शरिर गृह जिल्ला रुपन्देही लगि फेरी काठमान्डू पुर्याइएको छ । बोहराको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिनभरि रुपन्देहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा राखिएको थियो ।बोहराको पार्थिव शरिर हेलिकोप्टरमार्फत रुपन्देही लगेर आजै काठमाडौं ल्याइएको र अन्तिम संस्कार गरिने सो पार्टीले जनाएको छ ।
कोभिडले थलिएका थिए बोहोरा
पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले बोल्न नसक्ने अवस्थामा थिए । उनी कोरोना महामारीको दोस्रो लहर (जेठ २०७७) मा संक्रमित भएका थिए । संक्रमणको चार/पाँच महिनापछि बोहरामा स्वरमा केही परिवर्तन देखिएको थियो । पछि थप उपचारका लागि दिल्ली पुगेका बोहरालाई चिकित्सकहरूले पोष्ट कोभिडका कारणले घाँटीमा समस्या भएको बताएका थिए ।समस्या थपिएपछि उनी केही समयपछि अमेरिकाको न्यूयोर्क पुगेका थिए । त्यसयता उनी स्पीच थेरापी गर्दै आएका थिए ।पोस्ट कोभिडका कारण उनको घाँटीमा क्यान्सर भएको थियो । बोहरालाई घाटीको समस्या थियो । उनी चुनावको बेलामा पनि बोल्न नसक्ने अवस्थामा थिए । नबोलेरै उनी निर्वाचित भएका थिए । संसदमा पनि उनले बोलेनन् । उनले आफ्ना कुरा राप्रपाकै अन्य सांसदमार्फत सुनाउने गरेका थिए ।
कमेन्ट गर्नुहोस्