
तिलोत्तमा।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बुटवल उपमहानगर कमिटीको तेस्रो अधिवेशनबाट महेन्द्र भुसालको अध्यक्षतामा ६१ सदस्यीय नयाँ कमिटी चयन भएको छ। नवगठित कमिटीको शपथ ग्रहण कार्यक्रम आज एक विशेष समारोहबीच सम्पन्न भएको छ।
शपथ ग्रहण समारोहमा बोल्दै माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पार्टीभित्र लोकतान्त्रिक पद्धति संस्थागत भईसकेको र यसले पार्टीलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे। उनले भने, “हाम्रो पार्टीमा अब लोकतान्त्रिक प्रक्रिया मात्र होइन, प्रतिस्पर्धात्मक प्रणाली पनि विकास भएको छ। नेतृत्व चयन प्रक्रियामा देखिएको स्वस्थ प्रतिस्पर्धाले पार्टीलाई अझ सशक्त बनाउनेछ।”नवनिर्वाचित अध्यक्ष महेन्द्र भुसालले आफ्नो नेतृत्वमा रहेको कमिटी बुटवलमा पार्टीलाई मजबुत बनाउँदै भ्रष्टाचारविरुद्धको अभियानलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए। उनले भने, “हामी जनतासँग प्रत्यक्ष सम्पर्क गर्दै पार्टीलाई अझ जनमुखी बनाउने प्रयास गर्नेछौँ। भ्रष्टाचारविरुद्धको अभियान लिएर घर-घरमा पुग्नेछौँ।”
उनले पार्टीको काम गर्ने शैलीलाई परिवर्तन गर्दै स्थानीय तहका हरेक वडामा समन्वयकारी भूमिकामा रहेर काम गरिने बताए। बुटवलका १९ वटै वडामा समन्वय गरी संगठनलाई थप बलियो बनाउने लक्ष्य छ,” भुसालले भने।उनले माओवादी केन्द्रलाई बुटवल नगरमा नेतृत्वदायी भूमिकामा स्थापित गर्ने प्रतिबद्धता जनाउँदै भने, “अब माओवादी केन्द्र अधिवेशनमा मात्र देखिने प्रवृत्तिको अन्त्य भएको छ । निरन्तर रूपमा संगठनलाई सशक्त बनाउँदै नगरस्तरमा नेतृत्वदायी भूमिका खेल्नेछौँ।”
नवनिर्वाचित अध्यक्ष भुसालले पार्टी संगठनलाई बलियो बनाउन आवश्यकतालाई बुझ्दै क्षमताको सही प्रयोग गर्नुपर्ने बताए। उनले भने, “आवश्यकता र क्षमताबीचको प्रतिस्पर्धा सधैँ रहनेछ। यसलाई उचित रूपमा मिलाएर लैजान जरुरी छ।” पार्टी निर्माणको क्रममा अनुशासन र संगठनलाई विशेष प्राथमिकता दिइने उल्लेख गर्दै उनले भने,“पार्टी कमिटीले अनुशासनलाई पहिलो प्राथमिकता दिनेछ। पार्टीभित्र निरन्तर बहस, समीक्षा र योजनाका आधारमा काम गरिनेछ।” उनका अनुसार प्रत्येक कमिटीले आफ्ना एजेण्डा, विचार र संगठनात्मक विषयमा निरन्तर बहस गर्दै पार्टीलाई सही दिशा दिनुपर्ने हुन्छ। “हामी हरेक निर्णयको समिक्षा गर्दै संगठनलाई अझ गतिशील बनाउनेछौँ।”
नयाँ नेतृत्व चयन भएसँगै पार्टीभित्र सुधारका लागि विभिन्न कार्यक्रम ल्याउने र संगठनलाई बलियो बनाउन युवापुस्तालाई अवसर दिने, जनताको समस्या नजिकबाट बुझ्ने, र नगरभित्र विकास निर्माणमा सक्रिय सहभागिता जनाउने नीति अवलम्बन गरिने नवनिर्वाचित कमिटिका पदाधिकारी र सदस्यहरुले बताएका थिए ।
बुटवल उपमहानगर कमिटीको तेस्रो अधिवेशनबाट नयाँ उत्साहका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै पार्टीका नेताहरूले जनताको पक्षमा उभिएर काम गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। पार्टीलाई आगामी निर्वाचनसम्म मजबुत बनाउन विभिन्न अभियानहरू सञ्चालन गरिने बताएका छन ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बुटवल उपमहानगर कमिटीको शपथग्रहण कार्यक्रममा मगर समुदाय तर्फका निर्वाचित उपाध्यक्ष लालबहादुर थापा मगर सहित मगर सदस्यहरुले आफ्नो मातृभाषा मगर ढुट बाट शपथग्रहण गरेकाछन ।यसबाट माओवादी केन्द्रले मातृभाषालाई सम्मान गरेको देखिन्छ ।
कमेन्ट गर्नुहोस्