लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बसाईंसराईं समस्या होइन, अवसर हो : अध्यक्ष बराल

IMG

तिलोत्तमा,फागुन ३। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बसाईंसराईलाई समस्याको रुपमा व्याख्या गर्न नहुने बताएका छन् । शनिबार पार्टीको पाल्पा रुपन्देही सम्पर्क समाजको प्रथम भेलालाई सम्बोधन गर्दै अध्यक्ष बरालले बसाईंसराईलाई नयाँ अवसरको रुपमा लिइनुपर्ने बताए । 


"मानव जाति इतिहासकालदेखि नै हिड्ने र नयाँ नयाँ ठाउँमा पुग्ने गर्दै आएको छ । सम्भावनाको खोजी गर्ने मानवीय स्वभाव नै हो ।" लुम्बिनी प्रदेशका पुर्व सामाजिक विकास मन्त्री समेत रहेका बरालले भने, "आज हामी युवाहरु विदेस हिडे, गाउँका मान्छे तराई झरे, गाउँ खाली भयो, देशै रित्तियो भनिरहेका छौं । यो सत्य होइन, देश रित्तिदैन । राज्यसत्ताले सम्भावना देखाउनुपर्छ, मान्छे फेरी फर्किन्छ । ज्ञान र सिपसहित मान्छे फर्किने अवस्था कसरी बनाउने त्यो मुख्य कुरा हो ।"फरक प्रसंगमा बोल्दै अध्यक्ष बरालले देश मुठ्ठीभर माफियाको चंगुलमा फसेको बताए । "पैसा भए जे पनि गर्न सकिन्छ भन्ने दलाल पुँजीवादले राज्यसत्ता ग्रस्त  छ ।" उनले भने, "अहिलेको सरकारले स्वार्थ समूह र माफियाहरुका लागि काम गरिरहेको छ । यो गम्भीर समस्या हो ।"


समाजवाद अहिलेका समस्याको समाधान भएको उल्लेख गर्दै उनले पार्टी संगठन र राज्य संयन्त्र समाजवादमुखी हुनुपर्ने बताए।कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य नेत्र पाण्डे लगायतले बोलेका थिए ।सम्पर्क समाजको भेलाले केशव पोखरेलको अध्यक्षतामा ३१ सदस्यीय समिति चयन गरेको छ । जसको उपाध्यक्षमा केशव भण्डारी, मोहन रसाइली र उमा परियार, सचिवमा बाबुराम टिकाराम गैरे, सहसचिवमा मधुर थापा र कोषाध्यक्षमा रिजना महतरा चयन भएका छन् ।

कमेन्ट गर्नुहोस्