लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुप्रिम सहकारी ठगी प्रकरण : एक अर्ब ४३ करोड ८६ लाख रुपैयाँ बढी बिगो माग

IMG

तिलोत्तमा,माघ ६। रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी अभियोगमा आइतबार ३९ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।


गत बैशाख ३ गते अदालतमा पेश भएको मूल अभियोगपत्रबाट २८ जनाविरुद्ध सहकारी ठगी मुद्दा दर्ता भइसकेको छ । गत माघ ३ गते अदालतमा पेश भएको थप अभियोगपत्रबाट प्रतिवादी कायम भइसकेका २८ जना मध्ये दिनेश रोक्काविरुद्ध सम्पत्ति शुद्धीकरण र अन्य १६ जनाविरुद्ध आइतबार जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराध मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए ।


उनका अनुसार आइतबार पुरक अभियोगपत्रबाट २८ जनामध्ये आठ जना कायम भइसकेका प्रतिवादी र रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जना नयाँ प्रतिवादीहरुविरुद्ध पनि सहकारी ठगी र संगठित अपराध मुद्दा जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको छ ।दर्ता भएको पुरक अभियोग पत्रमा गोर्खा मिडिया नेटवर्क प्रालिमा आवद्ध रहेका लामिछाने, छविलाल जोशी, गितेन्द्रबाबु (जिबी) राई, कर्मचारी लक्ष्मीप्रसाद पौडेललाई पनि प्रतिवादी बनाइएको छ । यी चार जनाबाट कुल १० करोड ९९ लाख ३६ हजार रुपैयाँ बिगो मागदावी गरिएको छ ।


रुपन्देही जिल्लाका न्यायाधिवक्ता पौडेलका अनुसार मुल अभियोगपत्रबाट २८ जना उपर दर्ता भएको सहकारी ठगी मुद्दामा २८ जना प्रतिवादीहरुसँग ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रुपैयाँ बिगो मागदावी गरिएको छ ।त्यस्तै थप अभियोगपत्रबाट १७ जना प्रतिवादीहरूसँग २ करोड सात लाख ९४ हजार ५ सय ४० रुपैयाँ र पुरक अभियोगपत्रबाट २२ जना प्रतिवादीहरुसँग ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४१ रुपैयाँ विगो मागदावी गरिएको छ ।


सरकारी वकिल कार्यालयका अनुसार हालसम्म सहकारीको रकम ठगी गरेको अभियोगमा कुल ४२ जना विरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । यी ४२ जनाबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा कुल एक अर्ब ४३ करोड ८६ लाख २ हजार एक सय ३५ रुपैयाँ बिगो मागदावी गरिएको छ ।सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा एक हजार ९ सय ३ तीन जना बचतकर्ता छन् भने एक हजार ८ सय ७२ जनाले कुल ४२ जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका हुन् ।

कमेन्ट गर्नुहोस्