
तिलोत्तमा,पौष २८।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिने भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको थियो ।प्रहरी स्रोतका अनुसार रविलाई आइतबार भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिनेछ ।
सोमबार पुनः अदालत पेस गर्नेगरी उनलाई प्रहरीको जिम्मा लगाइएको छ ।गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो ।सोही मुद्दाको बयानका लागि लामिछाने आइतबार आफैं अदालत हाजिर भएका थिए ।लगत्तै न्यायाधीश अधिकारीको इजलासमा बयान भएको थियो ।रास्वपा अनुशासन आयोगका पूर्वउप्रमुख समेत रहेका अधिवक्ता यज्ञमणी न्यौपानेका अनुसार आज थुनछेक बहस नभएपछि इजलासबाट प्रहरीकै जिम्मा लगाउने आदेश भएको हो ।
‘बयान सकिँदा आज १५/२० मिनेटमात्रै समय बाँकी भयो,’ न्यौपानेले भने, ‘हामीले आजै थुनछेक बहसका लागि आग्रह गरेका थियौं । तर, श्रीमान्ले प्रहरीकै जिम्मा लगाउनुभयो ।’उनका अनुसार, परिवार वा सरकारी वकिलको जिम्मामा रविलाई छाड्न न्यायाधीश अधिकारीसँग आग्रह गरिएको थियो । यद्यपि उनले उक्त प्रचलन नभएको भन्दै प्रहरीकै जिम्मा दिनुपर्ने बताएको न्यौपानेले जानकारी दिए ।न्यौपानेका अनुसार भोलि बिहान ११ बजेबाट थुनछेक बहस सुरु हुनेछ ।
कमेन्ट गर्नुहोस्