
तिलोत्तमा, १९ मंसिर २०८१। रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को प्रथम चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम बुधवार सम्पन्न गरेको छ ।सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी नगरवासीहरुले विकास निर्माण, शिक्षा ,खानेपानी ,सडक, छाडा चौपाया, बन, कृषि, युवा ,वालवालिका, महिला, शान्ति सुरक्षा ,खेलकुद, स्थायी प्रदर्शनी स्थल, विद्युत, मशानघाट, संघसंस्थालाई जग्गा उपलब्ध, लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
सहभागीले बडागत रुपमा हुने कार्यक्रममा स्थानियहरुका सुझावलाई पनि ख्याल गर्न माग गरेका थिए ।सहभागीहरुले राखेका सुझावलाई नगर प्रमुख रामकृष्ण खांण, उप प्रमुख जगेश्वरी देवि चौधरी, प्रमुख कार्यकारी अधिकृत नारायण अर्यालले समाधान गरेका थिए । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत अर्यालले चालु आवको पहिलो चौमासिकमा भएका गतीविधी र आम्दानी खर्चका वारेमा जानकारी गराएका थिए । नगर उप प्रमुख चौधरीले सहभागीहरुले राखेका जिज्ञासामा नगरवासीको सुझावलाई केन्द्रमा राखेर वजेट तथा नीती कार्यक्रम बनाउने गरेको भन्दै सुझावलाई आत्म साथ गर्ने प्रतिवद्वता जनाइन् ।
कार्यक्रममा नगर प्रमुख खांणले सार्वजनिक सुनवाई कार्यक्रममा सहभागीहरुवाट आएका सुझाव जिज्ञासाले नगरपालिकालाई थप उचाईमा पुराउन टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भौतिक विकाससंगै मानविय विकासलाई पनि संगसंगै अगाडी बढाउने गरी कार्यक्रम अगाडी बढाएको बताए । नगरपालिकालाई देशकै उत्कृष्ट पालिकाका रुपमा स्थापित गर्न जनप्रतिनिधी कर्मचारी, बुद्धिजिबी,नगरवासीहरु, संघ संस्था उद्यागी व्यवसायी सबैको साथ उतिकै रहने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डे, नेकपा एमालेका नगर अध्यक्ष मिन प्रसाद पोखरेल ,नेकपा माओवादीका नगर उपाध्यक्ष प्रेम जिएम नेकपा एकिकृत समाजवादीका नगर सचिव विजय दाहाल राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष हर्क बहादुर टण्डन लगायतले नगरपालिकाले गरेका काम र गर्नु पर्ने कामका वारेमा जिज्ञासा राखेका थिए ।सार्वजनिक सुनवायी कार्यक्रमको संयोजन सुविगो मिडिया प्रालीले गरेको थियो भने कार्यक्रम संचालन पत्रकार सुरेस परियारले गरेका थिए ।
कमेन्ट गर्नुहोस्