
तिलोत्तमा,२०८० मंसीर १३ गते। बुटवलका मुख्य तीन चाेकमा ट्राफिक लाइट जडान गर्ने कार्य सुरु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं १० र ११ मा पर्ने कालिकानगर स्थित कालिका चाेकमा बिहीबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले ट्राफिक लाइट जडान कार्यकाे शिलान्यास गरेका हुन् ।शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले पहिलो चरणमा बुटवलका बढी भिडभाड हुने कालिकानगर स्थित कालिका चाेक,मिलन चाेक र ट्राफिक चाेकमा ट्राफिक लाइट जडान गर्न लागिएको र दोस्रो चरणमा हस्पिटललाइन बसपार्क, चौराहा लगाएतको क्षेत्रमा जडान गरिने बताए।
बुटवललाई सफा,स्व्च्छ,हरियाली,उज्यालो र सुरक्षित शहरको रूपमा विकास गर्ने उदेश्यले बुटवलका मुख्य मुख्य चाेकमा २३ वटा हाईमास्ड लाइट तथा सिसिटिभि जडान गर्ने काम भइरहेको जानकारी गराए ।कार्यक्रममा लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा सवारी ब्यवस्थापन कार्यालय बुटवलका प्रमुख,प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले दुर्घटना न्युनिकरणमा ट्राफिक लाइटकाे महत्त्वपूर्ण भुमिका रहने भन्दै यसले कम जनशक्तिबाट धेरै काम गर्न सकिने बताए । बुटवलको कालिका चाेकमा बिगतमा धेरै दुर्घटनाहरू भएको भन्दै उनलेे ट्राफिक लाइट जडान पछि दुर्घटनामा कमि आउने विश्वास ब्यक्त गरे ।
उपमहानगरपालिकाकाे बार्षिक योजना अनुसार ५५ लाख ५ हजार ९२५ रुपैयाँ लागतमा कालिका चाेक, मिलनचाेक र ट्राफिक चाेकमा ट्राफिक लाइट जडानका लागि क्युसेरा मल्टीपर्पाेज प्रालि काठमाडौ सँग ठेक्का सम्झौता भएको उपमहानगरपालिकाका पुर्बाधार महाशाखा प्रमुख गाैतम राैनियारले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्