लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनीमा हजार गुम्बा विहारको उद्घाटन

IMG

तिलोत्तमा सिटी, २०८१,मंसिर ७ गते । बुद्ध जन्मस्थल लुम्बिनीस्थित पाल थुव्तेन सेडुप लिङ गुम्बा (हजार बुद्ध मन्दिर)को उद्घाटन गरिएको छ । कानिङ सेडुव लिङ गुम्बा सङ्गठन तथा विकास कोष परिवारले निर्माण गरेको गुम्बाको शुक्रबार एक समारोहका विच उद्घाटन गरिएको हो । 


बौद्ध गुरु छोकी निमा रिन्पोछे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमे)ले गुम्बाको औपचारीक उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै बौद्ध गुरु निमा रिन्पोछेले देश तथा विदेशका चन्दादाताहरुको सहयोगबाट हजारबुद्धको महाविहार निर्माण भएको भन्दै अब यसको संरक्षण सबैले गर्नुपर्ने बताउनुभयो । उहाँले बुद्ध भगवानको जन्मस्थल लुम्बिनीमा विहार निर्माण गर्न पाउँदा निकै खुशी लागेको बताउँदै आफूहरुलाई पूजाको वातावरण बनाइदिन आग्रह गर्नुभयो । यस्तै उद्घाटन कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पाे छिमे) ले लुम्बिनीमा ठूलो गुम्बा निर्माण हुनु लुम्बिनी र नेपालसँगै विश्वका शान्तिप्रेमीहरुका लागि गौरव भएको बताउनुभयो ।


उहाँले परमपुज्य गुरु निमा रिन्पोछेंले लुम्बिनीमा गुम्बा निर्माण गरेर बुद्ध दर्शनको प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताउनुभयो । "यो गुम्बा राज्यले नै निर्माण गर्नुपर्ने थियो, रिन्पोछें र विश्वका सहयोगदाताहरुले निर्माण गरेर बुद्ध दर्शनको अध्ययनमा ठूलो योगदान गर्नेछ," उहाँले भन्नुभयो । यसैगरी कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद चन्द्रकेश गुप्ताले लुम्बिनीमा विहारहरु निर्माण हुने कुराले बौद्ध पर्यटनमा ठूलो टेवा पु¥याउने बताउनुभयो । 


कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खाँन, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, कोषका सदस्य सचिव सानुराजा शाक्य लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । 


विहार उद्घाटन अघि मंसिर ४ गतेदेखि प्राण प्रतिष्ठान पूजा गरिएको थियो । पुण्य मंगल ज्ञान बर्सात नाम शुद्धि स्नानद्धारा प्राण प्रतिष्ठान, चन्द्र अमृत नामक स्नान, शाक्यमुनी बुद्धको साधना सोह्र स्थविरको स्तुती एव्म पुजन गरिएको विहारका प्रमुख तथा रिन्पोछे ग्यालजोनले जानकारी दिनुभयो।विश्व शान्तिको कामना, विश्व प्राणी जगतको कल्याणको कामना सहित छोकी निमा रिन्पोछेबाट सहस्र बुद्धहरुको अभिषेक एव प्रवचन गरेका थिए । महायानी परम्पराअनुसार भएको पूजामा बौद्ध लामा गुरु, आनी, भिक्षुभिक्षुणी, उपासक उपासिकाहरु, विदेशी पाहुनाहरु, स्वदेशी विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो । 


विहारको उदघाटन लगत्तैको पुजामा पूर्व राजा ज्ञानेन्द्र शाहको उपस्थिती थियो । पूर्व राजा शाहलाई छोकी निमा रिन्पोछेले स्वागत गर्दै पूजामा सरिक गराएका थिए ।

कमेन्ट गर्नुहोस्