लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी विकास कोषको नीति कार्यक्रम तथा अनुमानित बजेट परिषद्‌मा पेस

IMG

तिलोत्तमा, भदौ १७ गते २०८१। लुम्बिनी विकास कोषको आर्थिक वर्ष २०८१/८२ को नीति कार्यक्रम तथा अनुमानित बजेट परिषद्‌मा पेस भएको छ। बुद्धजन्मस्थल लुम्बिनीमा आज बसेको परिषद् बैठकमा कोषको नीति कार्यक्रम तथा अनुमानित बजेट प्रस्तुत गरिएको हो।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं लुम्बिनी विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको परिषद् बैठकमा कोषाध्यक्ष ढुण्डीराज भट्टराईले आन्तरिकतर्फ रु ३७ करोड ११ लाख र नेपाल सरकारको गुरुयोजनाको बहुवर्षीय कार्यक्रमका लागि रु ४४ करोड गरी ७६ करोड ९८ लाखको अनुमानित बजेट परिषद्‌मा पेस गरेका थिए।


यस्तै, सदस्यसचिव सानुराजा शाक्यले दोस्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार वितरणको प्रक्रिया अगाडि बढाउने, लुम्बिनी वल्र्ड हेरिटेज कन्फरेन्सका लागि सरकारसमक्ष अनुरोध गर्ने लगायतका कार्यक्रमसहितको नीति कार्यक्रम पेस गरे।परिषद्‌मा पेस भएका नीति कार्यक्रम र बजेटमाथि व्यापक छलफल गरी लुम्बिनीको प्रवर्द्धन, विकास, स्थानीय समुदायसँग जोड्ने र लुम्बिनी विश्व सम्पदाका रुपमा स्थापित गर्नेगरी अर्को बैठकले पारित गर्ने गरी सकिएको कोषले जनाएको छ।


कोषका अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले लुम्बिनी विश्वमै नेपाल चिनाउने सम्पदा भएकाले यसको महत्त्वलाई अझ अन्तर्राष्ट्रियकरण गर्नेगरी स्पष्ट योजना बनाएर अर्को परिषद् बैठकमार्फत पारित गर्ने बताए।बैठकमा कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले विकास कोषको आम्दानी निकै थोरै भएकाले चाहेर पनि धेरै कामहरु गर्न नसकिएको बताउँदै आगामी दिनमा रचनात्मक कामका साथ बुद्धजन्मस्थल लुम्बिनीको विकासमा मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्ने बताए।

कमेन्ट गर्नुहोस्