
तिलोत्तमा नगरपालिका १७ वटा वडा कार्यालय भएको नगरपालिका हो। नगरको दोस्रो कार्यकालको चुनावमा नेपाली कांग्रेसको तर्फबाट कल्याण प्रसाद पौडेल निर्वाचित भए। निर्वाचित भएको २ बर्ष बितिसक्यो, आम वडा बासीले नगरपालिकामा जनप्रतिनिधि आइसकेपछि सहजता र सेवा उपलब्धताको लागि सर्वप्रथम वडामा ठोक्किने गर्नाले वडा कार्यालय बास्तवमै उत्कृस्ट हुनु आजको आवश्यकता हो। २ बर्ष बित्दासम्म वडामा के के गर्नुभयो ? अब वडालाई कस्तो योजना मार्फत अगाडी बढाउदै हुनुहुन्छ भन्ने बिषयमा सोहि वडा तिलोत्तमा -३ का वडा अध्यक्ष कल्याण प्रसाद पौडेलसंग गरिएको एक अन्तर्वार्ता यसप्रकार छ।
जनप्रतिनिधि भएर आएपछि के–के काम गर्नुभयो ?
लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन रह्यो । जनप्रतिनिधि नहुँदा स्थानीय तह अस्तव्यस्त र भद्रगोल रूपमै सञ्चालन हुँदै आयो । हामी निर्वाचित हुन अघि पनि पहिलो कार्यकाल भएकोले खासै जनताको काम गर्न सहज भएन। अस्तव्यस्त रहेको स्थानीय तहलाई कानुन बनाएर अघि बढ्दै हालसम्म आइएको छ। म आएको पनि २ बर्ष भैसक्यो, वडा कार्यालयका तर्फबाट जनतालाई दिने सेवा–सुविधामा कुनै कमी हुन दिएका छैनौँ । तर, विकास निर्माणको काम चाहँदा चाहँदै पनि , बजेटको नियन्त्रणमा सुस्त गतिमा भइरहेको छ । जनप्रतिनिधि भएर आएसँगै बिद्यालयदेखि स्वास्थ्य, बिकास निर्माण, मानवीय बिकासको क्षेत्रमा उल्लेख्य काम भैरहेको छ। दिनरात नभनी काम गर्दै आएका छौ, जनताले सास्ती भोग्नुपरेको ठाउँमा हातमा हात मिलाएर अघि बढेको छौ।
जनप्रतिनिधि भएर काम गर्न कत्तिको सहज रहेछ ?
जनप्रतिनिधिको जिम्मेवारी र अधिकार क्षेत्र फराकिलो छ । तर, स्थानीय निकायको बजेट अत्यन्तै न्यून छ । जनताका आकांक्षा र चाहना धेरै छन् । जनप्रतिनिधिले ‘जादुको छडी’ले जस्तै एकैचोटि सबै काम गरिदिऊन् भन्ने जनचाहना देखिन्छ । जनताका तर्फबाट आएका चाहना जायज छन् । तर, हामीसँग बजेट साह्रै कम छ । जसकारण जनअपेक्षाअनुसार काम गर्न सकिरहेका छैनौँ । वडा कार्यालयले विभिन्न शीर्षकमा मासिक तीनदेखि चार लाख रुपैयाँसम्म कमाइ गर्दै आइरहेको छ । तर, वडाका लागि बजेट निकै कम छ । वडाले आम्दानी गरेको राजस्व वडामै खर्च गर्न पाइँदैन । कमाई गरेको सबै रकम नगरपालिकामा पेस गर्नुपर्ने, र सरकार समक्ष पेश गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।त्यसैले जना अपेक्षा अनुरुप काम गर्न केहि समय लाग्छ तथापि हामि आफ्नो घोषणा पत्रमा भए अनुसारका काम गर्न दिनरात खटिरहेका छौ।
वडा कार्यालयमा सेवाग्राही कस्ता–कस्ता समस्या बोकेर आउँछन् ?
सडक कालोपत्रे हुनुपर्यो, खानेपानीको व्यवस्था हुनुपर्यो, बिजुलीका पोल, आफ्ना विभिन्न सिफारिस र दर्ताहरु, यो वडा तिनाउ नदीको किनारामा समेत भएकोले खोलापीडित, विभिन्न रोग लागेकाहरु राहत रकम पाउनुप¥यो भनेर सेवाग्राही आउने गर्छन् । यो सँगै नागरिकताको सिफारिस गर्न, जग्गाको साँध विवाद, लेनदेन बिबाद लगायत समस्या लिएर पनि आउँछन्। केहि वडा बासीहरुले मलाई आर्थिक प्रलोभन पनि देखाउनु हुन्छ , तर म स्वच्छ राजनीति गर्न आएको हुँ । मलाई एक सुका कमाउनु पनि छैन यहाँबाट, त्यसैले कसैको दबाब र प्रभावमा परेर गलत निर्णय गरेको छैन । म राजनीतिमा पैसा कमाउन आएको होइन, जनताको सेवा गर्न आएको हुँ ।वडा कार्यालयबाट तलबबापत २२ हजार रुपैयाँ आउने गर्छ । त्यसको ५० प्रतिशत रकम वडाका गरिब, दुःखी, असहाय तथा अपांगता भएका व्यक्तिलाई वितरण गर्दै आएको छु । मैले आफ्नै व्यापार थियो अहिले त्यो पनि घर परिवारलाई सुम्पेको छु। मलाई त्यसैबाट दालभात खान पुग्छ । त्यसैले गलत क्रियाकलाप गर्नेविरुद्ध कडा रूपमा उत्रँदै आइरहेको छु ।
तपाईंको वडामा सुकुम्बासी बस्ति पनि छ, उनीहरुको माग कहिले पुरा हुन्छ ?
मेरो वडामा अधिकांश तिनाउ नदीको किनारमा बस्ने सुकुम्बासी बस्ति छन् । करिब करिव जग्गा नाप जांच सकिएको छ अब भुमि आयोग खारेज भएकोले आगामी आयोग गठन पछि लालपुर्जा बितरण कार्य अगाडी बढ्ने छ। यो एउटा स्थानिय तहले चाहँदैमा ठ्याक्कै हुने होइन समय लाग्छ कानुनत: यसले आधिकारिकता पाउने छ। सायद हाम्रै कार्यकालमा सबै तिलोत्तमाका सुकुम्बासीहरुले लालपुर्जा प्राप्त गर्नेछन। लालपुर्जा बाहेकका अन्य आधारभूत आवश्यकता हामीले धेरै जसो पुरा गर्दै आएका छौ।
तपाईंको वडामा खानेपानी, बिजुली, ढलको व्यवस्था कस्तो छ ?
राम्रो प्रश्न गर्नुभयो , यो जनताको टड्कारो आवश्यकता पनि हो। यहि तथ्यलाई बुझेर पहिलाको कार्यकालमा भैरहेका राम्रा कामलाई निरन्तरता दिंदै वडा बासीहरुको घरमा खानेपानी जडान सहजता, बिजुलीका पोल लैजाने, तार तान्ने, अनि सडक बनाउन दुईतर्फ़ी ढल निकासका लागि ठाउँ राखेर निर्माण गर्दै आएका छौ। अहिले त गौरवको आयोजना मार्फत हरेक वडामा एक किलोमिटर सडक अभियानलाई अझै उत्कृस्ट बनाउन लामो सडकहरु ढल नाली सहित निर्माण भएका छन्। फोहोरको लागि हामि नियमित रुपमा व्यवस्थापन गर्दै आएका छौ।
स्वास्थ्यचौकीमा व्यवस्थापन कस्तो छ, जनता कत्तिको आउने गर्छन ?
हाम्रो वडामा रहेको स्वास्थ्यचौकीमा केही समयदेखि औषधिको समस्या देखिएको थियो। तर अहिले जनशक्ति र स्वास्थ्य औषधी पूर्ण रुपमा भएकोले स्थानिय वडाको मात्रै नभएर छिमेकी वडा र तिनाउ पारी र उत्तर तर्फ बुटवल उपमहानगर समेत भएकाले साधारण बिरामीहरुले निपूर्ण सुबिधा लिनुभएको छ। नगरपालिकाले स्वास्थ्यचौकीका लागि प्रयाप्त औषधि समेत व्यवस्थापन गरेकाले वडा बासीहरुलाई कुनै लक्षण देखिएमा स्वास्थ्य चौकी आउन आग्रह समेत गरेका छौ र त्यसलाई व्यवस्थित रूपमा चलाउँदै आइरहेका छौँ ।
यो बर्ष कस्ता योजना अघि सार्नुभएको छ ?
यो बर्षपनि गत बर्ष झैँ बिकास निर्माणका कार्यहरु बाटो निर्माण, बिद्यालयका भौतिक निर्माण, व्यवहारिक सिकाईका लागि योजना, स्वास्थ्यचौकीको अझ सेवा थप गर्ने, खानेपानी, सडक मर्मतसम्भार, ढल निर्माण र महिला सशक्तीकरण, युवाहरुलाई देशमै बस्ने बाताबरण बनाउन विभिन्न योजना अघि सारेको छु, तिनाउ नदि कटान र यस आसपासका क्षेत्रलाई प्रमुखताका साथ् योजनामा राखेको छु। साथै संघ, प्रदेश र नगरपालिकाका योजनाहरुलाई समेत मुख्य प्राथमिकतामा राखेर काम अगाडी बढाउने निर्णय गरेका छौँ ।
कस्तो वडा बनाउने सपना बोक्नुभएको छ ?
म जनतालाई दुःख होइन, सुख दिन राजनीतिमा होमिएको हुँ । त्यसैले मेरोतर्फबाट जनतालाई कुनै पनि हालतमा दुःख दिन्न । वडामा एक रुपैयाँ समेत भ्रष्टाचार र हिनामिना हुन्न दिन्नँ । वडामा आवश्यक पर्ने सबै पूर्वाधार जुटाएर जनतालाई सुख र शान्तिपूर्वक बाँच्ने वातावरण बनाउने कोसिसमा जुटेको छु ।बिशेषगरि ज्येष्ठ नागरिक, महिला, युवा र बालबालिकाको लागि सहज सेवा सुबिधा संगै उनीहरुलाई समाजमा स्थापित गर्नेगरि काम गर्नेछु। यसका लागि वडाका वडा सदस्यहरु , कार्यपालिका सदस्य, कर्मचारी, टोल बिकास, संगै नगरपालिका र आम वडाबासीको ठुलो सहयोगको खाँचो हुन्छ र म आशाबादी पनि छु सबैको सहयोगले साँच्चिकै समृद्ध वडा वडा नम्बर ३ बन्नेछ।
कमेन्ट गर्नुहोस्