लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा अहिलेसम्मकै धेरै रोपाई, करिब ९५ प्रतिशत धान रोपियो

IMG

साउन ५, २०८१ शनिबार,तिलोत्तमा। पछिल्लो समय धान रोपाई नगर्ने र बाँझो जमिन राख्नेहरुले पनि धान रोपाई गर्न थालेपछि तिलोत्तममा अहिले समकै धेरै प्रतिशत कृषकले खेतमा धान रोपेका छन्। धान रोपाईं हुने क्षेत्रफलमध्ये तिलोत्तमा नगरपालिकामा असार सकिनै लाग्दासम्म करिब ९५ प्रतिशत धान रोपाईं सकिएको  छ । नगरपालिकाका  अनुसार  तिलोत्तमामा ६ हजार ८४ हेक्टर क्षेत्रफल धान रोपाईंका लागि योग्य जमिन रहेको छ । जसमा ५ हजार ४ सय ४६ हेक्टर क्षेत्रफलमा मात्रै धान खेती गरिने तिलोत्तमा कृषि शाखा प्रमुख दोमलाल भुसालले बताउनुभयो । उहांका अनुसार ५ हजार १ सय ७४ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ भने धान रोपाई हुन ५ प्रतिशत (२७२ हेक्टर क्षेत्रफल) बांकि छ । 


त्यस्तै ६ सय ३८ हेक्टर क्षेत्रफल अन्य (पशु पालन,घांस,प्लटिङ) लगायतले ओगटेको छ । लगातारको वर्षाका कारण डुवानमा परेका स्थानमा धान रोपाईं हुन बांकि रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार त्यसका लागि  बीउ जोगाएर राखेको र पानी कम हुनासाथ रोपाईं गरिने छ । तर विउ जिन्निएपछि रोप्नु र नरोप्नुमा फरक नपर्ने कृषि शाखा प्रमुख भुसालले दाबी गर्नुहुन्छ । बीउ छिप्पिएपछि उत्पादकत्व घट्दै जान्छ,सकेसम्म २२ देखि २५ दिन भित्रको बीउनै रोप्नुपर्छ’भुसालले भन्नुभयो ।  यसमा एसआरआई प्रविधिमा छोटो समयमा चैते ५ लगायतका बीउ तयार पार्ने र रोप्ने गर्न समेत भुसालले किसानलाई  सुझाव दिनुभएको छ । यसले छोटो समयमा बाली दिने र उत्पादकत्वमा वृद्धि हुनेप्रति समेत उहांले किसानलाई सचेत गराउनुभयो । 


तिलोत्तमामा सिंँचाइको ठूलो स्रोत हुँदाहुदै पनि विगतका वर्षहरुमा पानीको अभावका कारण समयमा धान रोपाइँ हुन नसक्दा उत्पादनमा कमी आउने गरेको थियो । यसपाली समयमै धान रोपाइँ सम्पन्न हुँदा यो वर्ष नगरपालिकामा उत्पादनमा बृद्धि हुने भुसालको अनुमान रहेको छ ।

कमेन्ट गर्नुहोस्